विश्वको छैटौँ खतरनाक आतङ्कवादी संगठनमा भाकपा माओवादी : अमेरिकी रिपोर्ट

एजेन्सी, अमेरिकाको विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आतंकवादसम्बन्धी रिपोर्टमा भारतीय कम्युनिष्ट पार्टी(माओवादी)लाई संसारको छैटौँ सबैभन्दा खतरनाक आतंकवादी संगठन उल्लेख गरिएको छ ।रिपोर्टमा भारत आतङ्कवादबाट प्रभावित हुने देशको सूचीमा पनि चौथो स्थानमा छ । भारतमा अघिल्लो वर्ष भएका आतङ्कवादी घटनामा जम्मू–कश्मीरमा मात्रै ५७% प्रतिशत घटना भएको रिपोर्टमा लेखिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले रिपोर्टको भारत शीर्षकमा भाकपा (माओवादी)बारे लेख्दै भनेको छ, उक्त संगठनले सन् २०१८ मा १७७ उग्रवादी घटनाहरु घटायो र त्यसमा ३११ मानिसको ज्यान गएको छ ।

जब कि भारतीय गृह मन्त्रालयको तथ्याङ्कमा भाकपा(माओवादी)ले सो अवधिमा ८३३ हिंसात्मक घटना घटाएको र त्यसमा २४० मारिएको लेखेको छ ।

रिपोर्टमा भाकपा–माओवादीलाई तालिबान(अफगानीस्तान), इस्लामिक स्टेट, अल शबाब(अफ्रिका), बोको हराम(नाइजेरिया) र फिलिपिन्स कम्युनिष्ट पार्टीपछि छैटौँ सबैभन्दा खतरनाक आतंकवादी संगठन बताइएको छ ।

‘नक्सल पनि भनिने भाकपा–माओवादी सन् २०१८ मा भारतमा आतकंवाद सञ्चालन गर्ने सबैभन्दा ठूलो समूह थियो । भाकपा–माओवादीले भारतमा भएको आतंकवादी घटनामध्ये २६ प्रतिशत(१७६) घटायो । दोस्रो स्थानमा रहेको जैश–ए–मोहम्मदले भारतमा भएको कुल हिंसामा ९ प्रतिशत (६० घटना) घटना घटायो । त्यसपछि धेरै घटना घटाउने समूहमा हिजबुल मुजाहिद्दिनले ९ प्रतिशत(५९) र लश्कर–ए–तोईबाले ८ प्रतिशत घटना घटाए,’ रिपोर्टमा भनिएको छ ।

‘भारतमा युनाइटेड लिबरेसन फ्रन्ट अफ आसाम, नेशनल सोसलिस्ट काउन्सिल अफ नागाल्याण्ड–इसक–मुईभा, आईएसआईएस–जम्मू तथा कश्मिर जस्ता आतकंवादी संगठनहरु पनि सक्रिय छन् ,’ रिपोर्टमा अगाडि लेखिएको छ ।

रिपोर्टमा भारतलाई अफगानिस्तान, सिरिया र इराकपछि सबैभन्दा बढी आतंकवादबाट प्रभावित देश पनि उल्लेख गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयको आतङ्कवादसम्बन्धी रिपोर्ट अनुसार सन् २०१८ मा भारतका २९ वटै राज्यमा आतङ्कवादी घटना भएको र त्यसमा ९७१ मानिसको मारिएका छन्