आइएसद्वारा नेता बगदादीको मृत्यु भएको पुष्टिः नयाँ उत्तराधिकारीको नाम घोषणा

एजेन्सी, इस्लामिक स्टेटले आफ्ना नेता अबु बक्र अल–बगदादी मारिएको पुष्टि गर्दै उनको उत्तराधिकारीको नाम घोषणा गरेको छ ।इस्लामिक स्टेटले म्यासेजिङ सर्भिस टेलिग्राममार्फत् अबु इब्राहिम अल–हाशमी आफ्नो नयाँ नेता भएको घोषणा गरेको छ ।

एक अडियो सन्देशमा इस्लामिक स्टेटले आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर मारिएको पुष्टि पनि गरेको छ । उनको मृत्यु २७ अक्टोबरमा अमेरिकी कुर्दिस बलको एक अपरेशनको क्रममा भएको थियो ।

अबु हम्जा अल–कुरैशी इस्लामिक स्टेटका नयाँ प्रवक्ता हुन् जसले अबु इब्राहिम अल–हाशमीको हात बलियो बनाउन मुसलमानलाई आह्वान गरेका छन् ।

अबु इब्राहिम अल हाशमी अमेरिकी सुरक्षाबलका लागि परिचित नाम होइन । इस्लामिक स्टेटले आफ्ना नयाँ नेताबारे खासै जानकारी दिएको छैन । उनका कुनै तस्बिर पनि जारी गरिएको छैन ।

तर इस्लामिक स्टेटले अबु इब्राहिम अल–हाशमी पुराना जिहादी लडाकु भएको जसले पश्चिमविरुद्ध थुप्र्रै युद्ध गरिरहेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत आइतबार चरमपन्थी संगठन इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल–बगदादीले सिरियामा अमेरिकाको स्पेशन फोर्सको एउटा छापामारीको क्रममा आफूलाई मारेको बताएका थिए ।

चरमपन्थी संगठन इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल–बगदादी मारिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका लागि कुनै जीतभन्दा कम होइन ।