१५ मिनेटको त्यो“याक्सन”जसमा मारिए आईएस प्रमुख बग्दादी

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार खतरनाक उग्रवादी संगठन ‘इस्लामिक स्टेट’का प्रमुख अबु बक्र अल बग्दादीले सिरियामा अमेरिकी स्पेसल फोर्सको कारवाहीका क्रममा मारिएको बताए ।

पत्रकार सम्मेलनमा ट्रम्पले उत्तर–पश्चिम सिरियामा अमेरिकाको स्पेसल फोर्सको ‘अपरेसन’का क्रममा राति विश्वकै पहिलो नम्बरका आतंकवादीको मृत्यु भएको बताए । उनका अनुसार शनिबार अमेरिकाको स्पेसल फोर्स लिएर वासिंटनबाट एक हेलिकप्टर घटनास्थलतर्फ प्रस्थान गरेको थियो । त्यतिबेला ट्रम्प ‘ह्वाइट हाउस’को ‘सिचुएसन रुम’मा अन्य शीर्ष नेताहरुसँग थिए ।

हेलिकप्टर एक घण्टा १० मिनेटसम्म दुवै दिशातिर आकाशमा उडिरहेका थिए, अप्रेसन भने दुई घण्टासम्म चलेको उनले बताए । अमेरिकी मिडियालाई अधिकारीहरुले जनाएअनुसार आइतबार बिहानै सिरियाको इदलिब प्रान्तको बारिशा गाउँलाई अमेरिकाको स्पेशल फोर्सले निशाना बनाएको थियो । यो गाउँ टर्कीको दक्षिणी सीमाबाट केवल पाँच किलोमिटरको दूरीमा पर्छ ।

इदलिब सिरियाली राष्ट्रपति बशर अल असदका विरोधीहरुको प्रभाव क्षेत्र मानिन्थ्यो । यो ‘जिहादी’हरुको गठबन्धनको पनि गढ मानिन्छ । इस्लामिक स्टेटसँग ‘जिहादी’हरुको भिडन्त पनि हुँदै आएको थियो । यसका बाबजुद त्यहाँ सयौंको संख्यामा इस्लामिक स्टेटका लडाकु रहँदै आएका थिए । यस क्षेत्रमा सिरियाली सेनाको पनि तैनाथी छ ।

अमेरिकी गुप्तचर एजेन्सीले बग्दादीलाई पहिलेदेखि नै पिछा गर्दै आएको ट्रम्पले बताए । बग्दादी रहेको स्थानमा कयौं सुरुङ रहेको र तीमध्ये कयौंमा निकास नरहेको अमेरिकी गुप्तचर एजेन्सीलाई थाहा थियो । ट्रम्पले यो ‘मिसन’ मा स्पेसल फोर्सको एउटा ठूलो समूहलाई सामेल गरिएको बताए । यसमा आठ हेलिकप्टर, कयौं पोत र विमान सामेल थिए ।

अमेरिकी हेलिकप्टरहरु टर्कीको आकाश हुँदै अघि बढेको समाचारमा जनाइएको छ । यस क्रममा सिरियाली र रुसी सेनाको नियन्त्रण रहेको क्षेत्र पनि अमेरिकी हेलिकप्टरले प्रयोग गरेका थिए ।

ट्रम्पका अनुसार रुसी अधिकारीलाई अमेरिकी स्पेसल फोर्सको अप्रेसनका बारेमा थाहा थिएन । तर पनि उनीहरुले अमेरिकी हेलिकप्टरलाई जान दिएका थिए । ट्रम्पका अनुसार रुसले पनि एक प्रकारको सहयोग नै गरेको थियो ।

‘फ्लाइट निकै खतरनाक क्षेत्र हुँदै निस्कियो, हामी आगोको चपेटामा पर्ने हो कि भन्ने खतरा पनि थियो,’ ट्रम्पले भने, ‘कहिले रफ्तार निकै कम गर्नुपर्ने अवस्था थियो भने कहिले निकै तेज, हेलिकप्टर जब बग्दादीको परिसर नजिकै पुग्यो, गोलाबारी सुरु भयो, त्यसको सामना गर्न हामीलाई बढी समय लागेन ।’

बारिशा गाउँका एक व्यक्तिले बीबीसीलाई भने, ‘जमिनमा उत्रिनु अघि हेलिकप्टरबाट ३० मिनेटसम्म गोलीबारी भयो, हेलिकप्टरबाट दुई घरमा क्षेप्यास्त्र प्रहार भयो, यसमा एउटा घर पूर्ण रुपमा ध्वस्त भयो ।’

ट्रम्पका अनुसार बारिशा गाउँमा पहिला एउटा हेलिकप्टर अवतरण भयो । बग्दादी सुरुङतर्फ भाग्न लागेको र उक्त सुरुङको निकास नरहेको पनि ट्रम्पले बताए । यस क्रममा बग्दादी याचना गर्दै रोइरहेका थिए ।

‘पहिला पुरै कम्पाउन्ड खाली गरियो, यस क्रममा कतिपयले आत्मसमर्पण गरे, कतिपय मारिए,’ ट्रम्पले भने, ‘११ बालबालिकालाई बाहिर निकालियो, त्यो सुरुङमा बग्दादी एक्लै थिए । उनी आफूसँग तीन बालबालिकालाई लिएर भागिरहेका थिए, उनीहरुको पनि मृत्यु भयो ।’

‘बग्दादी सुरुङको अन्तिम भागमा पुगेका थिए, हाम्रा कुकुरले उनलाई लखेटिरहेका थिए,’ ट्रम्पले भने, ‘अखिर उनी लडे, आफ्नो कम्मरमा बाँधिएको विस्फोटकबाट उनले आफूसहित तीन बालबालिकालाई उडाए ।’ विस्फोटबाट उनको शरीर टुक्रा–टुक्रा भएको ट्रम्पले बताए । विस्फोटबाट सुरुङ पनि ध्वस्त भएको थियो । ‘अपरेसनपछि पुरै परिसर भग्नावशेषमा परिणत भएको थियो,’ ट्रम्पले भने, ‘यसको तस्वीर र भिडियोमा गोलीले बनेका छिद्र र जलेका वस्तुहरु प्रष्ट देखिन्थ्यो ।’

ट्रम्पका अनुसार सुरुङभित्र जसले आफूलाई विस्फोटकबाट उडाएको थियो, उसको शरीरका अवशेषको तत्काल जाँच गरिएको थियो । जाँचबाट उक्त व्यक्ति बग्दादी नै रहेको पुष्टि भएको थियो ।

१५ मिनेटभित्रै बग्दादी मारिएको दावीसमेत ट्रम्पले गरे । स्पेसल फोर्ससँगै डिएनए जाँचपछि व्यक्तिको पहिचान गर्ने विज्ञसमेत रहेको ट्रम्पले बताए । उनीहरुले नै घटनास्थलमा जाँच गरेर बग्दादीको डिएनए मिलान गरेका थिए । ती विज्ञले बग्दादीको शरीरको केही टुक्रा पनि लिएर आएको ट्रम्पको भनाइ छ ।

स्वतन्त्र रुपमा भने बग्दादीको मृत्युको पुष्टि भएको छैन । इस्लामिक स्टेटका समर्थक पनि यसमाथि भरोसा गर्न सतर्क देखिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘यस अप्रेसनमा स्पेशल फोर्सतर्फ कुनै क्षति भएन । बग्दादीका मानिस भने ठूलो संख्यामा मारिए, मारिनेमा बग्दादीका दुई पत्नीसमेत छन् । दुवै महिलाले आफ्नो शरीरमा विस्फोटक बाँधेका थिए तर विस्फोट भएन । अमेरिकी सेनाको एउटा कुकुर भने बग्दादीलाई पिछा गर्ने क्रममा घाइते भएको छ ।’

इस्लामिक स्टेटका केही लडाकुलाई बन्दी बनाइएको र बालबालिकालाई हेरचाहका लागि कतै राखिएको ट्रम्पले बताए ।

सिरिया–इराक सीमाबाट बारिशा सयौं किलोमिटर टाढा एक मरुभूमि क्षेत्रमा पर्दछ । बगदादीको अखडा यहीँ रहेको बताइन्छ ।

बगदादी फेरि आइएसलाई स्थापित गर्न चाहेकाले इदलिबमा थिए । अमेरिका समर्थित कुर्द लडाकुले गत मार्चमै पूर्वी सिरियाको बागुज गाउँबाट बगदादीलाई खेदेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बगदादीपछि इस्लामिक स्टेटको नेतृत्व कसको काँधमा आउँछ भन्नेबारे समेत अमेरिकाले सुक्ष्म ढंगले नियालिरहेको छ । उनले भने, ‘आइएसको नेतृत्व जसको हातमा आउँछ, त्यसमाथि पनि हाम्रो नजर कायम छ । अब कसले नेतृत्व सम्हाल्छ र उसको अखडा कहाँ छ भन्ने पनि हामीलाई थाहा छ ।’ बिबिसी