क्यालिफोर्नियामा भिषण आगलागी, संकटकाल घोषणा

एजेन्सी । अमेरिकाको क्यालिफार्नियामा भिषण आगलागी भएको छ । भिषण आगलागी पछि उक्त क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । राज्यका गर्भनर गाविन न्युसमले राज्यमा आपतकालीन अवस्थाको घोषणा गरेका हुन् ।

तीब्र गतिमा हावा समेत चलेपछि उत्तरी क्यालिफोर्नियाका १ लाख ८० हजार नागरिक विस्थापित भएका छन् । हावा चलेका कारण आगलागी नियन्त्रणमा लिन कठिन भएको छ ।

आगलागीका कारण हजारौं घर समेत जोखिममा परेका छन् । क्यालिफोर्निया सोनोमा, काउन्टी र सान्टा रोज क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

ग्यास तथा ईलेक्ट्रिक कम्पनीको भण्डारण रहेको क्षेत्रमा आगलागी भएपछि विद्युत सेवा समेत अबरुद्ध गरिएको छ । दश लाख भन्दा बढी मानिस अहिले विद्युत सेवाबाट वञ्चित भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।