यस्तो बन्दै छ चौध महिनामा काठमाडौँ चोभारको सुक्खा बन्दरगाह

काठमाडौं, आयात र निर्यात हुने वस्तुलाई एकीकृत सेवा दिनका लागि काठमाडौँको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) अब १४ महिनामा तयार भई सञ्चालनमा आउने भएको छ ।

मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको सो बन्दरगाह निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकता दिएपछि आगामी वर्ष तयार हुने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले सो बन्दरगाह सन् २०२० भित्र निर्माण भई सञ्चालनमा आउने बताए । उनले भने, “सन् २०२० भित्र काठमाडौँमा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको हुनेछ ।”

उनका अनुसार अहिले बन्दरगाहको निर्माण कार्य धमाधम भइरहेको छ । कुल एक अर्ब ६६ करोड रुपियाँ लागतमा निर्माण भइरहेको सो बन्दरगाहको अहिलेसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको छ । विश्व बैङ्कको ऋण सहयोगमा यो बन्दरगाह निर्माण भइरहेको हो ।

सन् २०१० देखि नै यो सुक्खा बन्दरगाह बनाउने सरकारी प्रयास सुरु भए पनि लामो समय सफल हुन सकेको थिएन । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्न लागेको हो । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोड्ने भावी योजना सरकारको छ ।

बन्दरगाहमा चार तलाको २२० वटा स्लट रहनेछन् । कुल ५५३ कन्टेनर राख्न मिल्ने गरी एक हजार तीन सय स्क्वायरका चारवटा वेयर हाउसको व्यवस्था गरिनेछ । कोलकाता, विशाखापट्टनम र रसुवा नाकाबाट सामान बोकेर आउने कन्टेनरहरू यहीँ बन्दरगाहमा जाँच गरी पठाइनेछ । यो बन्दरगाह सञ्चालनसँगै अहिलेसम्म सामान आयातमा लाग्दै आएको समय र लागतमा उल्लेखनीय रूपमा कमी आउने विश्वास सरकारको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।