चिलीमा संकटकाल घोषणा

सान्टियागो,चिलीको सान्टियागो राज्यमा संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराले शुक्रबार संकटकालको घोषणा गरेका हुन् ।

संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन् । शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पुर्‍याएका छन् ।

प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ वटा बस र दर्जनौ स्टेशनहरु क्षतिग्रस्त भएका छन् । मध्यरातमा राष्ट्रपति पिनेराले संकटकाल लागू भएको घोषणा गरेका हुन् । उनले अहिलेलाई १५ दिनका लागि मात्रै संकटकाल लागूहुने उल्लेख गरेका छन् ।