सिरिया सङ्कट : टर्कीसँग लडाइँ गर्न कुर्द लडाकु र सिरियाली सेना एकजुट

ऐजेन्सी, सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न बशर अल-असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका छन्।

त्यसको केहीअघि सिरियाको सरकारी सञ्चारमाध्यमले सरकारी फौज देशको उत्तरी सीमामा पठाइएको बताएको थियो।

सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमक्रेटिक फोर्सेस (एसडीएफं) ले सघाएको थियो। तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा विवादास्पद कदमका रूपमा त्यहाँको जटिल परिस्थितिमा आफ्नो सेना फिर्ता गर्ने निर्णय गरेका थिए।

सहमति

कुर्द नेतृत्वको प्रशासनका अनुसार सिरियासँग भएको सहमतिअनुरूप उत्तरी सिरियाको पूरै सीमामा सिरियाली सैनिकहरू परिचालित हुनेछन्।

सिरियाली सेनाले एसडीएफलाई टर्कीको आक्रमणको प्रतिकार गर्न तथा टर्कीको सेना तथा उसले खटाएका अन्य लडाकुलाई हटाउन सघाउने उसको अपेक्षा छ।

कुर्द प्रशासनले यो कदमले टर्कीले कब्जा गरेका सिरियाली सहरहरूलाई मुक्त गर्न सघाउनेू बताएको छ।

अमेरिकाको संरक्षण गुमाएपछि कुर्दहरूले सिरियासँग गरेको यो गठबन्धनलाई महत्त्वपूर्ण मानिएको छ। तर सिरिया सरकारले उनीहरूसँग कस्तो वाचा गरेको छ त्यसबारे थाहा भइसकेको छैन।

आक्रमण

अमेरिकी सेना सिरियाबाट फर्किएपछि टर्कीले गत साता कुर्दहरूविरुद्ध आक्रमण सुरु गरेको हो। टर्कीको सेनाले एसडीएफको नियन्त्रणमा रहेका क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरिरहेको छ।

सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई हराउने क्रममा कुर्दहरू मुख्य अमेरिकी सहयोगीका रूपमा थिए। यो सप्ताहान्तमा सिरियाका सीमावर्ती मुख्य दुई सहरमा टर्कीले नियन्त्रण कायम गरेको छ। सङ्घर्षका क्रममा दुवैतिर दर्जनौँ सर्वसाधारण र लडाकुहरू मारिएका छन्।

सिरियन अब्जर्भटरी फोर ह्यूमन राइट्सका अनुसार अहिलेसम्म ५० सर्वसाधारण र १०० सय भन्दा बढी कुर्द लडाकु मारिएका छन्।

टर्कीले ४४० कुर्द लडाकुको मृत्यु भएको दाबी गरेको छ। आफूतर्फ १८ जना सर्वसाधारण र चार सैनिक मारिएको उसको भनाइ छ। एसडीएफले भने आफ्ना ५६ लडाकुको मृत्यु भएको बताएको छ। बिबिसी