सी-मोदी साढे ५ घण्टा वान अन वान वार्ता, मोदीले भने-दुई देशबीच सहयोगको नयाँ युग सुरु

महाबलीपुरम, चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच महाबलीपुरममा करिब साढे पाँच घण्टा वान अन वान वार्ता भएको छ ।

दुई दिनमा विभिन्न चरणमा यी वार्ता भएका हुन् । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दे भारतका प्रधानमन्त्री मोदीले भारत—चीन सम्बन्धमा सहयोगको नयाँ युग सुरु भएको जनाउँदै यसमा चेन्नई जोडिएको जनाए ।

प्रतिनिधिमण्डल सहितको दोस्रो दिन शनिबारको वार्तापछि मोदीले भारत र चीन गएका २००० वर्षमा विश्वकै आर्थिक शक्ति भएको र फेरि त्यही दिशामा फर्किरहेको बारेमा नोट गरिएको जनाएका छन् ।

वुहानमा गएको वर्ष भएको बैठकले दुई पक्षबीच विश्वासको नयाँ वातावरण सिर्जना भएको जनाउँदै मोदीले सहयोगको नयाँ युग आज ‘चेन्नई कनेक्ट’ बाट सुरु भएको जनाएका छन् । उनले पहिलो शिखर सम्मेलनपछि रणनीतिक विषयमा दुई देशबीच सम्पर्क बढेको उल्लेख गर्दै दुई देशले बुद्धिमतापूर्वक मतभेदहरु व्यवस्थापन गर्ने र त्यसलाई विवादको रुपमा अघि बढ्न नदिने निर्णय गरेको समेत जनाएका छन् ।

मोदीले दुवै पक्ष आआफ्नो चासोका बारेमा संवेदनशील रहेकोसमेत जनाएका छन् । प्रतिनिधिमण्डलस्तरको भेटघाट अघि आज पनि मोदी र सी बीच एक घण्टा वान अन वान वार्ता भएको जनाइएको छ ।
(टाइम्स अफ इण्डिया)