प्रदुषित पानीका कारण भारतमा हजारौँ माछा मरे

एजेन्सी । भारतीय कर्नाटक राज्यको राजधानी बैंगलोरको एक तालमा प्रदुषित पानीका कारण हजारौँ माछाहरू मरेको अवस्थामा सतहमा तैरिएका भेटिएको छ ।

बैंगलोरका स्थानीयवासीकाअनुसार उक्त तालमा पानी प्रदुषण भई विगत ४ दिनदेखि माछा मरेका र बिरामी परेका हुन्।

तालको पानी एक्कासी प्रदुषित हुँदा हजारौँ माछाहरू मरेका छन् भने सयौँ अन्य गम्भीर बिरामी बनेका प्रत्यक्षदर्शीले बताएका छन्। यसका कारण ह्वाइटफिल्ड क्षेत्रको मुटुमा रहेको सामुद्रिक पर्यावरणमा समस्या देखिएको र यसको प्रभाव थप भयावह हुनसक्ने स्थानीयहरूलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

स्थानीय माझीहरूले मरेका माछाका कारण तालमा रहेका अन्य माछाको स्वास्थ्यलाई पनि प्रभाव पार्नसक्ने भन्दै विगत तीन दिनमा केही टन माछाहरूलाई तालबाट निकालेर व्यवस्थापन गरेका छन्। तालमा माछा मर्ने क्रम गत ४ दिनदेखि शनिबारसम्म जारी रहेको बताइएको छ।