अमेरिकाका विमान अपहरणकारी ३५ वर्षपछि पक्राउ !

एजेन्सी । करिब ३५ वर्षअघि अमेरिकी विमान अपहरणका शंकास्पद मानिएका व्यक्ति ग्रीसमा पक्राउ परेको प्रहरीले जनाएको छ । ६५ वर्षीय एक लेबनानी नागरिक सन् १९८५ मा अमेरिकी एयरलाइन्स अपहरण प्रकरणमा संलग्न भएको आशंका गरिएको छ ।

ती व्यक्तिको नाम भने खुलाइएको छैन । उनको पासपोर्ट जाँच गर्दा जर्मनीले ‘वान्टेड’को सूचीमा राखेको पाइएको थियो । टीडब्ल्युए फ्लाइट ८४७ को विमान अपहरण प्रकरणमा लेबनानमा संघर्षरत हिजबुल्लाह समूहले नियन्त्रणमा लिएको र एक जना अमेरिकी नाभी ड्राइभर मारिएको जनाइदै आएकोमा सो समूहले भने अस्वीकार गर्दै आएको थियो ।

अपहरण लगायतका विषयलाई जर्मनीद्वारा वान्टेड सूचीमा राखिएको जनाइएको छ । उनलाई अहिले ग्रीसको उच्च सुरक्षासहितको थुनामा राखिएको छ । जर्मनीका अधिकारीहरुले उनको पहिचान गरेपछि थप कदम चालिने बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

ट्रान्स वर्ल्ड एयरलाइन्सको विमान सन् १९८५ को जुन १४ मा कायरोबाट सान डीएगो जाँदै गर्दा अथेन्समा रोकेर त्यहाँबाट उड्ने क्रममा अपहरण गरी लेबनानको बेरुतमा आकस्मिक अवतरण गराइएको थियो ।

१५३ जना यात्रु तथा चालक दलका सदस्यलाई त्यतिबेला उनीहरुले बन्धक बनाएर लेबनानका सयौँ शिया समर्थित व्यक्तिलाई इजरायलको जेलबाट मुक्त गनुपर्ने माग गरेका थिए । इजरायलले बन्दी रिहा नगरेपछि एक २३ वर्षीय अमेरिकी ड्राइभरलाई उनीहरुले हत्या गरेका थिए भने अन्यलाई भने रिहा गरेको बीबीसीले जनाएको छ ।