पाकिस्तानले मोदीलाई हवाई मार्ग नदिने

एजेन्सी । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशको हवाई मार्ग प्रयोग गर्न नदिने भएको छ । प्रधानमन्त्री मोदी २१ सेप्टेम्बरमा अमेरिका भ्रमणमा जाँदैछन् ।

पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैशीले भारतले मोदीलाई हवाई क्षेत्र प्रयोग गर्ने अनुमति दिन आग्रह गरेपनि काश्मीरको अवस्थालाई हेरेर आफूहरुले अस्वीकार गरेको जानकारी दिएका छन् ।

उनले भने, ‘हामीले भारतीय उच्चायोगलाई नरेन्द्र मोदीको उडानका लागि स्वीकृति नदिने जानकारी दिएका छौं ।’ उनकाअनुसार मोदीलाई २० सेप्टेम्बरमा जर्मनी जान र २८ सेप्टेम्बरमा फर्किनका लागि पाकिस्तानी हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले अनुमति मागेको थियो ।

मोदी यसै क्रममा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नका लागि न्युयोर्क पुग्नेछन् । महासभामा भाग लिनका लागि पाकिस्तानी प्रधानमन्त्री इमरान खान समेत अमेरिका जाँदैछन् । उनले महासभामा पनि काश्मीर मुद्दा उठाउने तयारी गरेका छन् ।

उनले २७ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि पाकिस्तानले भारतका राष्ट्रपति रामनाथ कोविन्द चडेको विमानलाई पनि आफ्नो आकाश प्रयोग गर्न रोक लगाएको थियो ।