लद्दाखमा भारत र चिनियाँ सेनाबीच झडप

एजेन्सी, पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच ‘झडप’ भएको छ । टाइम्स अफ इन्डियाका अनुसार गस्तीमा रहेको भारतीय सेना र सुरक्षार्थ तैनाथ भारतीय सैनिक बीच बुधबार झडप भएको हो ।

यो घटना १ सय ३४ किलोमिटर लामो पिङगङ्ग ताल (सरोवर)को उत्तरी किनारामा भएको हो, जसको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा छ ।

भारतीय सैनिक उक्त समयमा गस्तीमा रहेका जनाइएको छ । आफ्नो नियन्त्रण क्षेत्रमा भारतीय सैनिकले गस्ती गर्न थालेपछि चिनियाँ सेनाले विरोध जनाएका थिए ।

चिनियाँ सैनिकले विरोध जनाएपछि दुवै पक्षबीच तनाव उत्पन्न भएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

तनाव उत्पन्न भएको क्षेत्रमा दुवै देशका सैनिकको संख्या बढ्दै गएपछि बुधबार राति नपर्दासम्म झडप कायम रहेको जनाइएको छ ।

दुवै सेनाका बिग्रेडियरस्तरमा छलफल चलेपछि स्थिति सामान्य बनेको थियो ।