इराकमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

एजेन्सी । इराकमा मोहर्रमको अवसरमा निकालिएको जुलुसमा भागदौड हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । भागदौडमा १०० अन्य मानिस घाइते भएका स्वास्थ्य विभागका प्रवक्ताले बताए।

इराकी अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन्। जहाँ भागदौड भएको थियो त्यहाँ मोहर्रम पर्वको अवसरमा शिया समुदायका ठूलो संख्याका मानिस उपस्थित थिए । समाचारमा जनाइए अनुसार आशुरा अर्थात मोहर्रम महिनाको १० तारेखका दिन हजारौंको संख्यामा मानिसहरु सहभागी भएर यो पर्व मनाउँछन् । ।

इश्लामको धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शहादतको यादमा आशुरा मनाउने गरिएको हो । उनको मृत्यु ६८० इस्वी संवतमा भएको मानिन्छ ।

इराकको कर्बलाको मैदानमा इमाम हुसेन र उनका ७२ जना आफन्त तथा साथीहरुको युद्ध सो समयका शासक यजीदका सेनाबीच भएको मानिने गरेको छ । सो युद्धमा इमाम हुसेन र उनका सबै साथीहरु मारिएको मानिने गरेको छ ।

स्मरण रहोस्, सन् २००५मा इराकको राजधानी बग्दादस्थित फरात नदीको पुलमा भागदौड मच्चिदा कम्तिमा ९६५ मानिसको मृत्यु भएको थियो।