तरुण दलमा घम्साघम्सी शुरू,अध्यक्ष र महासचिवबिच चर्काे विवाद

काठमाडौं, नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल तरुण दलमा विवाद देखिएको छ । अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच विवाद देखिएको हो ।

भक्तपुर र सप्तरी तरुण दलको अध्यक्ष चयनको विषयमा शुरूमा देखिएको विवादले मंगलबारदेखि उग्ररुप लिएको छ । महासचिव शाहीले सप्तरी तरुण दलमा मंगलबार अध्यक्ष नियुक्त गरेका छन् । शाहीले सिन्धुपाल्चोकका एकजना तरुण नेताको कारबाही फुकुवा पनि गरिदिएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने तरुण दलका महासचिव शाहीले अध्यक्ष बस्नेतले भ्रष्टाचारविरुद्धको अभियान चलाउन नमानेको आरोप पनि लगाएका छन् ।

‘अब तरुण दलले देशभरि व्यापक रुपमा भ्रष्टाचारविरुद्धको अभियान चलाउँछ’, शाहीले भने, ‘अध्यक्षजीले नमानेपछि बाध्य भएर भ्रष्टाचारविरुद्धको अभियान चलाउने घोषणा गरेको छु ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिने तरुण दलका अध्यक्ष बस्नेतले महासचिव शाहीको निर्णय र गतिविधिहरूका बारेमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् । उनले भने, ‘यसबारेमा मलाई केही जानकारी छैन । हामीबीच त्यस्तो केही विवाद छैन । असमझदारी रहेछ भने सल्लाह गरेर मिलाउन सकिन्छ ।’

नेपाली कांग्रेसले दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण देशभरि एक साथ सञ्चालन गरेकै दिन मंगलबार अध्यक्ष बस्नेत र महासचिव शाहीबीचको द्वन्द्व बाहिर आएको छ ।

अध्यक्ष बस्नेत र महासचिव शाहीले कांग्रेसको जागरण अभियानलाई सहयोग गर्नभन्दै अलग अलग परिपत्र जारी गरेपछि विवाद सतहमा आएको थियो ।