भारतले चन्द्रमामा पठाएको यान-२ सम्पर्कबिहीन

काठमाडौं,भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्कबिहीन भएको छ । चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने बेलादेखि सम्पर्कबिहीन भएको हो । भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार राति साढे १ बजेदेखि २ बजेको बीचमा चन्द्रमामा अवतरण गराउने योजना अनुसार काम भएपनि अवतरण गर्नै लागेपछि सम्पर्क टुटेको थियो।

चन्द्रयान-२ को सफल अवतरण र उसले गर्ने अनुसन्धान हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को कार्यालय पुगेका थिए । तर अन्तिम समयमा प्राविधिकहरुले सम्पर्क टुटेको खबर सुनाएपछि उनी निराश हुँदै फर्किएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको जानकारी गराउँदै भने, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।