मुख्य सडकमा राखेका बुद्धका मूर्तिहरु तोडफोड !

काठमाडौं । पर्यटकलाई आकर्षित गर्न भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा राखेका बुद्धका मूर्ति तोडफोड भएका छन् ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले ६ लेनको सडक डिभाइडरमा बुद्धका मूर्ति राखेको थियो ।

२२ वटा मूर्तिमध्ये अज्ञात समूहले गएराति ५ वटा तोडफोड गरेको हो । बुटवल सुनौली सडक खण्ड ६ लेनमा बिस्तार भएको छ ।

तिलोत्तमाले आफ्नो नगर क्षेत्रको ६ लेन सडकमा बुद्ध मुर्ति राखेर सडकको सुन्दरता बढाउने अभियान अन्तर्गत मूर्तिहरु राख्ने अभियान थालेको थियो ।

राखिएका मूर्ति मध्ये शंकरनगर र नयाँ मिलबीचका तोडफोड भएका छन् ।

तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरेले सुनियोजित रुपमा मूर्तिहरु तोडफोड भएको भन्दै यसलाई गम्भीर रुपमा लिएको बताए ।

बुद्ध मूर्ति स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

जसमध्ये गत आर्थिक वर्षको अन्त्यसम्म २३ लाख रुपैयाँ खर्च भएको र बाँकी चालू आर्थिक वर्षमा खर्च गरिने नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।