क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

लस एन्जल्स,अमेरिकाको क्यालिफोर्निया राज्यमा पुनः शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको लस एन्जल्स शहरबाट २४० किलोमिटर टाढा रहेको रिजक्रेस्ट शहरनजिक ९०० मिटरको गहिराइलाई केन्द्रविन्दु बनाएर ७.१ म्याग्निच्यूडको भूकम्प भएको हो ।

गत बिहीबार पनि सोही क्षेत्रमा ११ किलोमिटरको गहिराइलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

पछिल्लो भूकम्पको धक्का क्यालिफोर्नियाका प्रमुख शहरहरुसहित नेभादा राज्य र मेक्सिकोको सीमासम्म महशुस गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पले क्यालिफोर्नियाको एक स्थानमा आगलागी भएको, केही मानिसहरु घाइते भएको र केही परिवार विद्युत तथा सञ्चारको सुविधाबाट बञ्चित भएको सामान्य घटनाबारे जानकारी आएको त्यहाँका अधिकारीले जनाएका छन् ।

त्यसबाहेक भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।