चिनियाँ राष्ट्रपति सी जिनपिङ जी २० शिखर सम्मेलनमा सहभागी हुन जापानमा

एजेन्सी, चिनियाँ राष्ट्रपति सी चिनफिङ बिसवटा औद्योगिक राष्ट्रहरुको समूह (जी२०) को शिखर सम्मेलनमा सहभागी हुन बिहीबार जापानको ओशाका आइपुगेका छन् । विश्वव्यापी व्यापारका सन्दर्भमा प्रमुख आद्योगिक राष्ट्रहरुबीच मतान्तर रहेकै समयमा हुन लागेको यस सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने चेतावनी दिएका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच जारी व्यापार युद्ध नै यसपटकको शिखर बैठकको मुख्य कार्यसूची रहने अनुमान गरिएको छ । जी २० को शिखर सम्मेलन यही शुक्रबार बस्दैछ ।

जापान प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकी बजार खुम्चिएसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालो लागेको दाबी गरे ।

चीनको व्यापारिक नीति आफ्ना लागि स्वीकार्य नरहेको बताउँदै राष्ट्रपति ट्रम्पले करिब २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरेका छन् । उनले चीनले आफ्ना नीतिमा सामयिक सुधार नगरे अरु थप सामानमा करवृद्धि गर्ने घोषणा गरेका छन् ।

उनले अन्तर्वार्ताका क्रममा भने, ‘मैले अझै पनि ३ खर्ब २५ अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गरेको छैन । यो वस्तुतथ्यलाई चीनले समयमै सम्बोधन नगरे करवृद्धि गर्नुको विकल्प छैन ।’ विश्व बजारमा दुई मुलुक चीन र अमेरिकाले तत्कालै वार्ताद्वारा समस्या सुल्झाउने अपेक्षा गरेका छन् । विश्व अर्थतन्त्रमै करवृद्धिले नकारात्मक असर पर्न थालेको अनुमान गर्न थालिएको छ ।

अधिकांश विज्ञहरुले जी २० बैठकमा औपचारिक सम्झौता हुने सम्भावना क्षीण रहेको बताएका छन् । दुबै मुलुकबीच जारी व्यापार वार्ता समेत केही समयदेखि अबरुद्ध छ । जी २० बैठकमा व्यापारका अलावा इरान, भेनेजुएला र उत्तर कोरियाका विषय पनि प्रमुख कार्यसूचीमा रहेका छन् । साथै जलवायु परिवर्तन र बुढ्यौली जनसंख्याको व्यवस्थापन जस्ता विषयमा पनि बैठकमा छलफल हुने अनुमान छ । –एएफपी