२४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

एजेन्सी, अमेरिकाको निजी कम्पनीले एकैसाथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफल भएको छ ।

विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।

निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ । अमेरिकी समयअनुसार बिहान २.३० बजे फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी प्रक्षेपण गरिएको थियो ।

फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो । स्पेसएक्स कम्पनीको इतिहासमै यो निकै चुनौतीपूर्ण प्रक्षेपण हो । यो अभियानमा करिब ६ घण्टा लागेको थियो । स्पेसएक्सका अनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको बुस्टरलाई पनि यसपटक पुनः प्रयोग गरिएको थियो ।