यसरी गाडी ब्याग गरेर हत्या गरियो

मंगलबार लम्कीमा मालबाहक ट्रकको टायरमा च्यापिएर क्याम्पस पढेर फर्किरहेकी १९ वर्षीय सुनिता रावलको घटनास्थलमै ज्यान गयो । मृतक युवतीका आफन्तले ठक्करबाट घाइते भएपछि ट्रक ब्याग गरेर ‘हत्या’ गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

ठक्करबाट बायाँ हातमा गम्भीर चोट लागेकी रावललाई ट्रक ब्याग गरेर टायर शरीरमा चढाइ मारेको भनेर ५५ वर्षीय धनसिंह भण्डारीले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका छन् । ट्रकका चालक सुनिल भण्डारीका नाममा उनले किटानी उजुरी दिएको कैलाली प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए ।

१० वर्ष पहिलेसम्म गाडी ठक्कर दिएर कसैको ज्यान गएमा कयौं घण्टा राजमार्ग ठप्प हुन्थ्यो । सयौं यात्रु दिनरात सडकमै अलपत्र पर्थे । तेस्रो पाटीबिमा गरेर गाडीको ठक्कर ज्यान गुमाउनेलाई ५ लाख क्ष्यतिपूर्तिको प्रावधान भएपछि यो समस्या समाधान भएको छ ।

गाडीको ठक्करले कसैको ज्यान गएमा बिमाबाट ५ लाख दिँदा समस्या समाधान हुन्छ । गम्भीर घाइते भएमा वर्षौंसम्म उपचारका गराउनु पर्ने र धेरै बढी रकम लाग्ने हुँदा आर्थिकरूपमा यात्रुको ज्यान जाँदा व्यवसायीलाई सजिलो हुने स्थानीय बताउँछन् ।

कैलालीका प्रहरी उपरीक्षक तिम्सिना लम्कीको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानपछि वास्तविक कुरा थाहा हुने बताउँछन् ।