भारतमा फानीको आतंक, के होला नेपालमा ?

काठमाडौं ,केही दिनयता भारतमा घुमिरहेको चक्रावत फानीले ओडिसा राज्यमा आतंक मच्चाएको छ । फानीले शुक्रबार र शनिबार नेपालका पूर्वी र मध्य भागमा पनि असर पार्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चक्रावात फानीले भीषण रुप लिँदै ओडिसामा क्षति पुर्‍याएको हो । भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणले देशका पूर्वी तटतर्फ बढिरहेको फानी ओडिसाको पुरीस्थित दक्षिण गोपालपुर र चान्दबाली पुग्ने जनाएको छ।

यसक्रममा हावाको गति १७५-१८५ किलोमिटर प्रतिघण्टादेखि २०५ किलोमिटर प्रतिघण्टासम्म हुने सम्भावना छ । यो खबरसँगै ओडिका केही भागमा खतराको चेतावनी जारी गरिएको छ। सुरक्षाकर्मीलाई उच्च सतर्क अवस्थामा राखिएको छ। बिहीबारदेखि सबै शैक्षिक संस्था बन्द गरिएको छ। तटीय जिल्लामा रहेका आठ लाख भन्दा धेरै मानिसला सुरक्षित इलाकामा लिएको छ।

 के होला नेपालमा ?

फाणी नेपालमा नआए पनि यसको असर नेपालमा पनि देखिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले फानीबारेमा बिहीबार जारी गरेको एउटा सूचनामा शुक्रबार र शनिबार यसको प्रभावले पूर्वी र मध्य नेपालका जिल्लामा मेघ गर्न/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। महाशाखाले यो चक्रावतका कारण देशका हिमाली जिल्लाहरुमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

‘देशका पश्चिमी क्षेत्रहरुमा शुक्रबार पश्चिमी वायुको प्रभावले हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिन्छ’, महाशाखाले भनेको छ, ‘आइतवारदेखि मौसममा क्रमिक सुधार आउने सम्भावना छ।

‘ महाशाखाका अनुसार फानी हाल बंगालको खाडीको मध्यपश्चिमी भागबाट उत्तर-पूर्वी दिशा ओडिसाको तटीय क्षेत्रमा पुगिसकेको छ । बिहीबारैदेखि ओडिसाको तटीय क्षेत्रमा पुगेको फानीले उपद्रव मच्चाउन थालिसकेको छ। त्यसपछि शुक्रबारबाट फानी उत्तर-पूर्व दिशातर्फ गएर कमजोर हुने बताइएको छ।