सियानमा राष्ट्रपति भण्डारी
बेइजिङ,नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका क्रममा बुधबार अपराह्न पल्लो सान्सीको सदरमुकाम सियान पुगेकी छन्। राष्ट्रपतिलाई पल्लो सान्सी प्रान्तका उपगभर्नर हु मिङलानले विमानस्थलमा स्वागत गरेका छन्। सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि विमानस्थलमा उपस्थित थिए।
चीनले शुक्रबारदेखि शनिबारसम्म आयोजना गर्ने दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिन राष्ट्रपति भण्डारी चीन आएकी हुन्। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने कार्यक्रम छ। त्यसपछि उनले अर्का शक्तिशाली नेता चाउ लचीसँग पनि भेटवार्ता गर्नेछिन्। राष्ट्रपति भण्डारीसँग बिहीबार मध्याह्न १२ बजे पल्लो सान्सी प्रान्तका गभर्नर लिउ कुओचोङले भेटवार्ता गर्ने कार्यक्रम छ।
राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेता चाउ लचीबीच हुने भेटवार्तालाई अर्थपूर्ण मानिएको छ। चाउ लची चीन सरकारको कुनै औपचारिक पदमा छैनन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य हुन्। चिनियाँ कम्युनिस्ट पार्टीको सात सदस्यीय शक्तिशाली हाइकमान्डमा उनी छैटौं नम्बरमा भए पनि शक्ति प्रयोगमा राष्ट्रपति सीपछिका शक्तिशाली व्यक्ति हुन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासन आयोगका प्रमुख हुन्। चीनमा अनुशासन आयोगको प्रमुखलाई राष्ट्रपतिपछिको सबैभन्दा शक्तिशाली मानिन्छ।