प्रहरी घेरामा राष्ट्रिय मानव अधिकार आयोगकाे कार्यालय
नेपालगञ्ज- विष्फोटक पदार्थ मुद्दाको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्यो। रिहा गर्ने आदेश हुने बित्तिकै प्रहरी अदालतमा पुग्यो।
फडेरालाई अदालत परिसरबाटै पुनः पक्राउ गर्ने तयारी भयो। अदालतका कर्मचारीले त्यसको विरोध गरे। अदालत परिसरबाट बाहिर निस्केपछि पक्राउ गर्न प्रहरी तयारी अवस्थामा बस्यो।
फडेरालाई प्रहरीले पुनः पक्राउ गर्ने निश्चित नै भएपछि उनकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा फोन गरिन्। आयोगबाट अधिकृत वसन्त अधिकारी र सन्तोष चन्द अनुगमनमा अदालत पुगे। फडेराले आयोगका कर्मचारीको पिछा छोडेनन्। उनी आयोगका अधिकारीसँगै राष्ट्रिय मानव अधिकार आयोगको नेपालगञ्ज कार्यालयमा पुगे।
फडेरा आयोगको कार्यालयमा बसेपछि प्रहरीेले रातभरी नै आयोगको कार्यालयलाई निगरानीमा राख्यो। सादा पोशाकका प्रहरीले आयोगको कार्यालय घेरेर बसे।
आयोग नेपालगञ्ज कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईका अनुसार, राति १०ः ३० बजे इलाका प्रहरी कार्यालय, कोहलपुर इन्चार्ज डिएसपी रमेशबहादुर सिंहको टोली आयोगको कार्यालयमा आइपुग्यो। सुरक्षा गार्ड हरिबहादुर केसीलाई धम्की दिएर भित्र पस्ने कोसिस गरे।
प्रहरीले आयोगको कार्यालयलाई घेरेर बसेको जानकारी केन्द्रीय कार्यालयसम्म पुगेको छ । यहाँका अधिकारकर्मीहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै आयोगको कार्यालय घेराउ गर्ने प्रहरीको गतिविधिप्रति निन्दा गरेका छन्।
इन्सेकका भोला महतले अदालतको आदेशको सबैले पालना गर्नुपर्ने र प्रहरीले आयोगको कार्यालय घेराउ गर्नु आपत्तिजनक कुरा भएको बताए।
नेपाल एशोसियसनका केन्द्रीय उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, आयोगका नेपालगञ्ज प्रमुख चन्द्रकान्त चापागाई, उच्च अदालत वार एशोसियसन नेपालगञ्जक अध्यक्ष विकास आचार्य, जिल्ला वारका अध्यक्ष मोहम्मद अयुव सिद्धिकी, इन्सेकका भोला महत, एड्भोकेसी फोरमका बसन्त गौतम, हिमराइट्सका प्रकाश उपाध्याय, सूचना र मानव अधिकार अनुसन्धानका विश्वजित तिवारी, फातिमा फाउण्डेसनकी मैमूना सिद्धिकी, अधिवक्ता पदम पाण्डे, मानवअधिकार रक्षक रविन्द्र कर्ण, मानव अधिकार एलाइन्सका प्रभात ठकुरी र फियानका सुरेश गौतमले विज्ञप्ती निकालेर कानून बमोजिम अदालतद्वारा सादा तारेखमा छोड्ने आदेश गरेको व्यक्तिलाई कानूनी प्रक्रिया विपरित पुनः पक्राउको प्रयास गर्ने र राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय वरिपरिर सादा पोशाक र वर्दी लगाएका प्रहरीले निगरानी बढाउने निन्दनीय कार्य तत्काल बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं भनेका छन्।
सोमबार पनि फडेरा आयोगको कार्यालयमै बसेका छन्। आयोग नेपालगञ्जका प्रमुख चापागाईले केन्द्रीय कार्यालयबाट आउने आदेश अनुरुप अगाडिको कार्य हुने बताए । प्रहरीले सोमबार पनि आयोगको वरिपरि सादा पोशाकमा घुमुवालाई खटाएको छ । आयोगको कार्यालय नजिकै घुमुवा प्रहरी डिउटी दिएर बसेका छन्।