सरकारी रबैयाका बिरूद्भ हतियार उठाउने वैद्यको चेतावनी

‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई ‘लफ्फाजी’को संज्ञा

नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’ले आवश्यक परे फेरि हतियार उठाउने चेतावनि दिएका  छन् । पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सरकारी रबैया यस्तै रहे हतियार उठाउने उद्घोष गरेका हुन्।

देशले नयाँ विकल्पको खोजी गरेको भन्दै आबश्यक परे जनताले जनताले हतियार उठाउने बताए । उनले सत्ता बिना केही सम्भव नहुने भन्दै सत्ताका लागि संघर्षको प्रक्रिया अगाडि बढेको उद्घोषसमेत गरे। ‘अब सत्ता बिना अरु केही काम छैन। सत्ता कसको जनताको की प्रतिक्रियावादीको ? भन्ने प्रश्न मुलभूत रुपमा हो। जनताको सत्ता स्थापनाका लागि संघर्ष आवश्यक छ,’ उनले भने।

महासचिव किरणले अहिलेको सरकार कम्यनिस्ट सरकार नभएको र कम्युनिस्टको बदनाम गर्ने सरकार भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई ‘लफ्फाजी’को संज्ञा दिए।

‘ओलीजीले समृद्ध नेपाल सुखी नेपालीको लफ्फाजी दिइरहनु भएको छ। के सम्भव छ समृद्ध नेपाल सुखी नेपालीको नारा?’ उनले प्रश्न गरे, ‘हाम्रा उब्जाउ जमिन बाँझो राखेर विदेशबाट अन्न आयात गरेर, हाम्रा रोजगार युवालाई विदेश पठाएर, नेपाली नदी नाला विदेशीलाई वेचेर के समृद्धि आउला?’

उनले नेपालमा विदेशी लगानीको नाममा विस्तारवाद भित्राएको आरोपसमेत लगाए। वैद्यले सत्ताधारी नेकपा ‘कम्युनिष्टहरुलाई बदनाम गर्ने र विदेशीको हित संरक्षण गर्ने शक्ति’मात्रै भएको समेत आरोप लगाए