यसकारण अब पत्रिकामा चटपटे बेच्न नपाइने

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सडकपेटीमा राखिने खानेकुराको गुणस्तरसम्बन्धी निर्देशिका तयार पारेर कार्यान्वयनमा ल्याउने भएको छ।

बिभागका अनुसार विभागले निर्देशिका तयार पारेर कृषि तथा पशुपंक्षी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको छ। मन्त्रालयले स्वीकृत गरेपछि निर्देशिका कार्यान्वयनमा आउने बिभागकाे भनाइ छ।

‘सडकपेटीमा बेच्न राखिएका खाद्यवस्तु र फलफूल पसलमा गुणस्तर कम हुने गरेको छ। त्यसकारण नियमन गर्नु जरुरी छु, ,महानिर्देशक सन्जीवकुमार कर्णले भने सडक पेटीमा ठेला पसलमा बेच्न राखिएका खाद्यवस्तुमा के गर्न हुने र के गर्न नहुने भनेर हामीले निर्देशिका जारी गर्न लागेका हौं।’

निर्देशिकामार्फत विभागले सडकपेटीमा बेच्न राखेका वस्तुको गुणस्तर तथा मापदण्ड तोक्नेछ। निर्देशिकाअनुसार कार्यान्वयन भए–नभएको बारे अनुगमन पनि विभागले गर्नेछ।

निर्देशिकाले गरेको व्यवस्थाअनुसार सडकपेटीमा राखिएका चटपटे, मकै, चाटलगायतका खानेकुरा पत्रिकामा राखेर बेच्न पाइने छैन। पत्रिकामा खानेकुरा बेच्न राख्दा त्यसको मसी खानेकुरासँगै मानिसको शरीरमा जाने र जसका कारण क्यान्सरलगायत गम्भीर खालका रोग लाग्नसक्ने सम्भावना भएका कारण पत्रिकाको प्रयोगलाई बन्द गर्न लागिएको महानिर्देशक कर्णले बताए। ‘पत्रिकाको मसीमा कार्सिमोनियम प्रयोग भएको हुन्छ। जुन मानव स्वास्थ्यका लागि एकदमै नकारात्मक असर गर्ने र क्यान्सरसम्मका रोगको कारण बन्न सक्छ। जसकारण खानेकुरामा पत्रिकाको प्रयोग गर्न हुँदैन,’ कर्ण भन्छन्।