पुर्वमन्त्री शेर्पाइलीले अस्पतालमै गएर मल्ललाई गरे स्वास्थ्य लाभको कामना 

पुर्व खेलकुदमन्त्री दलजित शेर्पाइलीले मृगौला पिडित जाजरकोटका युवानेता काली बहादुर मल्ललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन । 

 दुबै मृगौलाले काम गर्न नसक्ने अबस्थामा पुगिसकेपछि युवानेता मल्ल अस्पताल भर्न भएका थिए । मल्लको बिषयमा जानकारी पाइसकेपछि पुर्वमन्त्रि तथा नेकपाका युवानेता शेर्पाइली अस्पताल पुगेका हुन । 

उनले मल्लको स्वास्थ्य लाभको कामना गर्नुका साथै प्रक्रियागत सहयोग गर्ने बताएका छन ।

 मृगौला कमजोर भएपछि मल्ललाई आइसियुमा राखिएको छ ।

जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय सशक्त युवा नेताका रुपमा देखिएका मल्ल एक वर्षदेखि मृगौला रोगबाट पीडित छन् । चिकित्सकका अनुसार उनको दुबै मृगौला ८० प्रतिशत काम गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

केही महिना पहिले वीर अस्पतालमा जाँच गर्दा मृगौला रोगका लागि परिक्षण गरिने क्रिटीनाइन इन्डिकेटर ५ रहेकोमा मंगलबार फेरि चेक गराउँदा बढेर १५ पुगेको पाइएको छ । 

स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उनलाई काठमाडौं अस्पतालको आइसियु कक्षमा राखिएको छ । उनको मंगलबार आइसियुमा राखेर डाइलाइसिस गरिएको छ । मल्लले सधै पार्टी र आन्दोलनका लागि दिन रात खट्दा अहिले स्वास्थ्यमा खराबी आएको बताए । उनी जनयुद्धकालमै जाजरकोटको विद्यार्थी आन्दोलनको नेतृत्व गरेर आएका नेता हुन् ।

मृगौलामा केही समस्या देखिए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा अहिले गम्भीर अवस्था आएको उनले बताए । चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ ।

उनको उपचारमा लागेका मल्लका भाइ टेकराज मल्लले आफ्ना दाजुको मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिन देशविदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।