बाँकेमा वडाध्यक्षहरु संगठित

बाँकेमा निर्वाचित स्थानीय तहका वडाध्यक्षहरु संगठित हुन लागेका छन् । निर्वाचित जनप्रतिनिधीमाथि हातपातलगायतका दुब्र्यवहार हुन थालेपछि वडाध्यक्षहरु संगठित हुन लागेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्षहरुमाथि कुटपिट हुँदासमेत कसैले वास्ता नगरेपछि आगामी दिनमा त्यस्तो घटना नदोहोरियोस भन्ने उद्देश्यले बाँकेका वडाध्यक्षहरु संगठित हुन लागेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका वडाध्यक्ष मोहनराम मिश्रले बताए ।

बाँकेमा रहेका ८१ वटै वडाका अध्यक्षहरुको भोली (शनिवार) नेपालगञ्जस्थित होटल मयुरमा भेला हुन लागेको उनले बताए । भेलाबाट विधान निर्माणका लागि समिति, तदर्थ समिति र जिल्ला वडा अध्यक्ष संघसमेत गठन गर्ने वडाध्यक्ष मिश्रले जानकारी दिए ।

‘हामी वडा अध्यक्ष एक जुट होऔं’ नाराका साथ हुने भेलाबाट गठन गरिने संघले आगामी कार्ययोजना निर्माण गर्नुका साथै परेको खण्डमा वडाध्यक्षहरुका लागि वकालत गर्नेछ । बाँकेमा यसरी गठन हुन लागेको वडाध्यक्ष संघ सम्भवतः नेपालको पहिलो हुने वडाध्यक्ष मिश्रले बताए ।