आफूलाई मार्न विप्लवले टोली खटाएको प्रचण्डको खुलासा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव समूहले आफूलाई मार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा योङ कम्युनिस्ट लिगले गरेको कार्यक्रममा विप्लवले एक नम्बरमा आफूलाई टार्गेट गरेको खुलासा गरेका हुन्।

सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रचण्डले प्रश्न गरे- मलाई मारेर यो परिवर्तन बाँच्ने हो त ? जनयुद्धको निर्माता, योजनाकर्ता र कमान्डर तथा शान्तिप्रक्रियाको पनि नेतृत्वकर्ता भएको नाताले आफूलाई शान्तिप्रक्रिया सम्पन्न गर्न अन्तिमसम्म लड्नुको विकल्प नभएको उनले सुनाए। ‘मलाई छुट छैन, अरुलाई छुट होला’, प्रचण्डले भने।

प्रचण्डले आफ्नो कार्यालयमा सचिव भएका एकजनालाई हवाला दिँदै ‘एक नम्बरमा आफूलाई सिध्याउन विप्लवले माइन्युट गरेको’ बताए। यसबारे सरकारको तर्फबाट पनि आफूलाई जानकारी भएको उनले बताए। ‘पछिल्लो चरण मेरो कार्यालय सचिव भएर बसेकाले भन्नुभएको छ’, प्रचण्डले भने, ‘विप्लवहरूले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर माइन्युट गर्नुभएको छ रे। टिम पनि खटाउनु भएको छ रे।’

प्रचण्डले ५२ सालको नक्कल नगर्न विप्लवलाई चेतावनी दिए। ‘ती साथीहरू सम्झिँदा दया माया लागेको छ। नक्कल गरेर पास भइन्न’, उनले भने, ‘महेन्द्रको नक्कल गर्न खोज्दा ज्ञानेन्द्र असफल भए। मैले ऊ बेलै कलाविहीन नौटंकी हुन्छ भनेको थिएँ, सत्य भयो।’

प्रचण्ड बन्न सजिलो छैन

परिस्थिति नहेरी गरिने काम असफल हुने भन्दै प्रचण्डले ७५ सालमा ५२ सालको नक्कल नगर्न चेतावनी दिए। ‘अहिले पनि साथीहरूले जे गर्न खोजेका छन्। यो ५२ साल होइन। अहिले राजतन्त्र पनि छैन’, उनले भने, ‘संविधानमा समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार छ। सँगै लडेका साथीहरू सरकारमा छन्। परिस्थिति हेर्नु पर्दैन ?’

अर्को प्रचण्ड बन्छु भनेको आफूले सुनेको बताउँदै उनले प्रचण्ड बन्न सजिलो नभएको बताए। ‘सजिलो छैन प्रचण्ड बन्न पनि। कसैले चाहेर प्रचण्ड भइहाल्ने होइन’, उनले भने, ‘म पनि प्रचण्ड बन्छु भनेर हिँडेको थिइनँ।

जनताको काम गर्दागर्दै जनताले प्रचण्ड बनाए। ‘केही गर्नु छ भने नयाँ बाटो खोज्नुस्’, उनले भने, ‘प्रचण्डको नक्कल गरेर अर्को प्रचण्ड बन्छु भन्नु भ्रममात्र हो। त्यो भ्रमले कहीँ पुगिँदैन। दुर्भाग्यपूर्ण परिणाममा पुग्छ।’