के अभिनन्दनले फेरि उडाउलान त लडाकु विमान ?

यस्तो छ वायुसेना प्रमुखको जवाफ

भारतीय वायु सेनाका प्रमुख बीएस धनोआले बालाकोटमा गरिएको हवाई आक्रमणका बारेमा सोधिएका विभिन्न प्रश्नको जवाफ दिएका छन् । सोमवार पत्रकार सम्मेलन गरेका उनले पुलवामा हमलापछि गरिएको हवाई आक्रमणसँग जोडिएको प्रश्नको जवाफ दिएका हुन् ।

यस क्रममा उनले विंग कमाण्डर अभिनन्दनले फेरि उडान भर्ने बारे पनि जवाफ दिए । अहिले अभिनन्दनको स्वास्थ्य परीक्षण भइरहेको छ । वायु सेनाका प्रमुख धनोआले पूर्ण रुपमा स्वस्थ भएपछि अभिनन्दनले फेरि लडाकु विमान उडाउन सक्ने बताए ।

फेरि विमान उडाउने कुरा अभिनन्दनको फिटनेसमा निर्भर रहने उनले स्पष्ट पारे । उनले अभिनन्दनलाई आवश्यक सम्पूर्ण उपचार गरिने बताए । भारतीय वायु सनोका विंग कमाण्डर अभिनन्दनलाई हवाई आक्रमणका लागि पाकिस्तानी क्षेत्र गएका बेला पाकिस्तानको वायु सेनाले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि पाकिस्तानले अभिनन्दनलाई भारत फिर्ता गरेको थियाे । अभिनन्दन गएको शुक्रबार राति वाघा–अटारी सीमा क्षेत्रको मार्ग हुँदै भारत आएका थिए ।