महाकाली सन्धिमा भारतले जालझेल गरेको प्रधानमन्त्री ओलीको खुलासा

भारतले ३५० क्युसेक पानी समेत नदिएकाे दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ बर्षअघि नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएको खुलासा गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयलाई गम्भिरताका साथ उठाउनुपर्ने समेत दाबी गरेका छन् ।

‘हाम्रो पहिलो प्राथमिकता सन्धिको कार्यन्वयन हो । सन्धिअनुसार नेपालले १० क्यूमेक्स पानी पाउनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने– ‘सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहँदैन ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन समेत दिए । बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

२०५२ माघ १९ गते भएको महाकाली सन्धिको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिञ्चाईका लागि भारतले १० घनमिटर प्रति सेकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउने भारतलाई तत्पर गराउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन आज सिंहदरबारमा बैठक आयोजना गरेको थियो । सो बैठकमा नेपाल– भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । बैठकमा उर्जा मन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णुप्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई लागयतको सहभागिता थियो ।