भारतीय रेल्वे लिकमा मृत भेटिएका छात्राहरुको कोठामा यस्तो ‘सुसाइड नोट’
वीरगञ्ज – भरतीय रेल्वे लिकमा शव भेटिएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएका पर्सा प्रहरीले वीरगञ्ज रानीघाटमा ती छात्रा बस्ने कोठा फोरेर खानतलासी गर्दा सुसाइड नोट पाएको हो ।
सरस्वती पूजाको दिन आइतबार बिहान साढे ८ बजे वीरगंजको सीमावर्ती सहर रक्सौल नजिक काननाबाट पर्साका दुई किशोरीको शव रेलको लिकमा फेला पर्छ। पर्साको ग्रामीण भेगका दुई किशोरी वीरगंजमा अध्ययनरत थिए। तर कसरी रक्सौलभन्दा ५ किलोमिटर दक्षिण–पश्चिम पुगेर आत्महत्या गरे वा कसैले मारेर रेलको लिकमा फ्याँक्यो सबैको ध्यान खिचेको छ।
कालिकामाई गाउँपालिका–२ भेडीहारी बस्ने राजेश्वर साहकी १७ वर्षीय छोरी निभाकुमारी साह र सोही गाउँपालिका–३ हरिहरपुर बस्ने हरिकिशोर चौरसियाकी १८ वर्षीय छोरी किरण चौरसियाको रक्सौल नजिक रेल्वे लिकबाट शव फेला परेको थियो।
पर्सा प्रहरीले किशोरी बस्ने वीरगंज–१० रानीघाट कुमारीमाई नजिक डेराबाट सुसाइड नोट फेला पारेपछि घटनाको प्रकृति आत्महत्यातर्फ उन्मुख भएको अनुमान समेत गरिएको छ। तर, आत्महत्याका लागि उक्त विकट ठाउँ उनीहरूले किन रोजे भन्ने प्रश्न उब्जिएको छ।
प्रहरीले किरणले नै लेखेको उनकै हरियो डायरीमा डेराबाट सुसाइड नोट फेला पारेको दाबी गरिरहेको छ। पर्सा प्रहरीले आइतबार राति साढे ८ बजे कालिकामाई गाउँपालिका –५ का वडाध्यक्ष पवन तिवारीसहितको टोलीले निभा र किरण बस्ने डेराको ताल्चा फुटाई खानतलासी गरेको थियो। दैनिक उपभोग्य सामान र कापी किताबभित्र हरियो डायरी फेला परेको थियो।
आधा डायरीमा माया प्रेमसम्बन्धी सायरी लेखिएको छ भने अन्त्यमा रातो रङ्गको डटपेनले सुसाइड नोट लेखिएको पर्सा प्रहरीले बताएकाे छ ।
प्रहरीले परीक्षण गरिरहेको छ सुसाइड नोटको
सुसाइड नोट किरणको डायरीमा भएकोले किरणले नै लेखेको अनुमान गरिएको छ। नोटको अन्तिममा ‘एन प्लस के’ लेखिएको कारण दुबेले सहमतिमा सँगै बसेर नोट लेखेको पनि अनुमान गरिएको छ। सुसाइड नोटबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले नोट लेखाई कसैले हत्या गरी रेल्वेको लिकमा फालिएको हुनसक्ने तर्फ पनि अनुसन्धान केन्द्रित गरेको छ।
नोट हिन्दीमा
भाषा प्रयोग गरिएको छ। जसमा लेखिएको छ ‘हमलोग अब इस् दुनियाँ मेँ जी नहीं पाएंगे, हम लोग जिस निर्णय पर पहुँचे है, उसका राज हम ही जानते हैं, जीने का अब कोही अर्थ नहीँ, ममी पापा आपलोग किसी पर शंका उपशंका मत किजिएगा।’
नोटको पछाडिपट्टि लेखिएको छ ‘अनत् मे, आपलोगोंका सपना हमलोग पूरा नहीं कर पाए।’
अन्तिममा ठूलो अक्षरमा अङ्ग्रेजीमा –‘सो सरी आई लभ यु ममी–पापा, एन प्लस के’ लेखिएको छ।
किरणको हुँदै थियो छेका
हरिहरपुरकी किरण र भेडीहारीकी निभाको भेट सुकई साह मावि भेडीहारीमा भएको थियो। त्यहाँबाट उनीहरूले गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी उच्च शिक्षाका लागि वीरगंज आएका थिए। निभा विपिसीमा पढ्थिन भने किरण सत्यम् पब्लिक कलेज श्रीपुरमा। उनीहरूले डेरा लिएको घरमा भेडीहारी आसपासका अन्य चारजना छात्रा पनि बस्थे। तीमध्ये दुई जना शनिबार राति वीरगंज डेरामा फर्केनन्। निभा र किरण घरबाट ट्युसन फि लिएर फर्केको निभाकै बुबा राजेश्वर साह बताउँछन्।
शव रक्सौलबाट ल्याएर दाहसंस्कार पनि गरिएको छ। किरणको यसै २० फेब्रुअरीमा भारत विहार रामनगरका केटासँग छेका (टीकाटालो) हुने मिति तय भएको थियो। छेकाभन्दा ९ दिन पहिले किरणको लास भेटिनु रहस्यमय रहेको अनुमान लगाइएको छ। उनी आत्महत्या गर्न प्रेरित भएको, विवाह करकापमा भइरहेको थियो वा अन्य कुनै कारण रहेकोबारे पनि चर्चा चलाइएको छ। डेरामा किरणमात्र मोबाइल बोक्थिन्। स्थानीयले भने कल डिटेलका आधार घटना पत्ता लाग्ने भन्दै छानबिनको माग गरेका छन्।
मेधावी छात्रा निभा
निभा पढाइमा राम्रो रहेको उनी पढ्ने विपिसीका सञ्चालक डा. दीपक शाक्य बताउँछन्। शाक्य भन्छन्, ‘निभाले बि प्लस ल्याएर एसईई पास गरेकी थिइन। भलाद्मी र पढाइमा राम्री थिइन। उनले आत्महत्या गर्न सक्दिनन्।’ घटनाका दिन दुबै जना डेराबाट साढे ६ बजे निस्कँदा किरणले घरको नम्बरमा फोन गरी कुरा पनि गरेको परिवारका सदस्य बताउँछन्। उनले सरस्वती पूजा गर्न कोठाबाट हिँडेको जानकारी गराएकी थिइन्।