घाईतेहरुको माग सरकारले सम्वोधन गर्छ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको स्मृतिमा प्रदेश राजधानी सुर्खेतको मुख्य चोकमा सहिद स्मारक निर्माण गर्ने वताएका छन । सहिदहरुको वलीदानीले कर्णाली प्रदेश प्राप्त भएको वताउदै मुख्यमन्त्री शाहीले सहिदहरुको सम्मान गर्नु प्रदेश सरकारको दायित्व भएको जिकिर गरे।
मंगलवार मुख्यमन्त्री कार्यालयमा प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा भएका घाईते अपाँङ्गहरुको मागपत्र वुझदै मुख्यमन्त्री शाहीले घाईते तथा अपाङ्गहरुको लागि पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरे ।
‘यो प्रदेश प्राप्तीको मुख्य देन सहिद र तपाई घाईते योद्धाहरुको हो ।’ मुख्यमन्त्री शाहीले आन्दोलनका घाईतेहरुको घाउ अवलोकन गर्दै भने–‘तपाईहरुका माग जायज छन, सरकार माग संवोधका लागि गंभिर छ ।’
२०७२ साउन २५ गतेको प्रदेश प्राप्तिको आन्दोलनमा घाईते भएका आफुहरुले अझै पनि उपचार तथा हवाई यातायातको खर्च नपाएको भन्दै मुख्यमन्त्री शाहीसंग घाईतेहरुले गुनासो गरेका छन् । उनीहरुले घाईते भईसकेपछि उपचारका लागि हवाईजवाज चार्टर समेत आफन्तहरुले गरेको र चार्टरको भाडा पनि अहिलेसम्म सरकारले भुक्तानी नगरेको भन्दै उक्त भाडा भुक्तानीको माग गरेका छन ।
घाईतेहरुले मुख्यमन्त्री शाहीसंग थप उपचारको व्यवस्था, आफु र परिवारको योग्यता वमोजिम जिविकोपार्जन तथा रोजगारी र छोराछोरीको निशुल्क शिक्षाको समेत माग गरेका छन ।
प्रदेश संरचना निर्माणका क्रममा तत्कालीन सरकारले भेरी, कर्णाली र राप्तीका २ जिल्ला र सुदुरपश्चिमका सेती र महाकाली सहित एउटै प्रदेश निर्माण गर्ने निर्णय गरेको थियो । भेरी, कर्णाली र राप्तीका २ जिल्ला सहितको छुट्टै प्रदेशको माग गर्दै हरेक जिल्लामा आन्दोलन चर्किएको थियो ।
सोही आन्दोलनका क्रममा सरकारले वल प्रयोग गर्दा सुर्खेतमा ४ जनाको ज्यान जानुको साथै धेरैको संख्यामा घाईते तथा अपाङ्ग हुनुपरेको थियो ।