सशस्त्रको सामान खरिदमा अनियमितता – एसएसपी मिश्रसहित ४ जना भ्रष्टाचारी ठहर

विशेष अदालतले सशस्त्र प्रहरी बल नौबस्ता बाँकेमा कार्यरत रहँदा सामान खरिदमा अनियमितता गरेको ठहर गर्दै सशस्त्र प्रहरीका एसएसपीसहित तीन प्रहरीलाई भ्रष्टाचारी ठहर गरेको छ। सशस्त्रका एसएसपी गोपाल मिश्र, इन्सपेक्टर चित्रबहादुर केसी, हवल्दार नयनवहादुर ओलीलाई र ठेकेदार राजु रावललाई दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले यस्तो फैसला सुनाएको हो। उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २६ लाख बराबरको ठेक्काका अनियमितता गरेको भन्दै २०७३ भदौ ६ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दामा फैसला सुनाउँदै विशेषले दुई प्रहरी अधिकारी र ठेकेदारसँग बिगो, जरिवाना र कैदसँगै थप ४२ लाख ११ हजार २ सय भराउनुपर्ने ठहरसमेत गरेको छ।

विशेषले मिश्र र केसीलाई बिगोको दामासाही हुनेगरी आधाआधा भराउने फैसला सुनाएको छ। उनीहरुलाई जनही ६३ लाख १६ हजार ८ सय ९६ रुपैयाँ र सो बराबर जरिवाना हुने फैसला विशेषले सुनाएको छ। भ्रष्टाचार निवारण ऐन अनुसार जनही उनीहरुलाई एकएक वर्ष कैद हुने फैसला सुनाइएको छ।

यस्तै ठेकेदार राजु रावललाई १ करोड २६ लाख बिगो र सोही बराबर जरिवना भराउने फैसलासमेत सुनाइएको छ। हवलदार नयनवहादुर ओलीलाई ३१ लाख ५८ हजार बिगो र सोही बराबर जरिवाना तथा ६ महिना कैद हुने फैसला सुनाइएको छ।

अख्तियारले सामान खरिदमा अनियमितता भएको भन्दै जेजे ट्रेडिङ एन्ड इन्टरप्राइजेजका सञ्चालक रावललाई पनि मुख्य अभियुक्त भन्दै मुद्दा दायर गरेको थियो। आर्थिक वर्ष २०७१र७२ को बजेटबाट मिश्रले गोप्य रुपले कीर्ते खरिद बोर्ड गठन गरी फर्जी बिल भपाई बनाई रकम हिनामिना गरेको अख्तियारको अनुसन्धानमा खुलेको थियो।

सम्झौतामा जिल्ला र स्थानीय दररेटभन्दा अत्यधिक मूल्य बढाई कम परिमाणका सामान खरिद गरेको, नक्कली दस्तखतबाट झुटा खरिद प्रतिवेदन कागजात बनाएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो। सामान खरिदको लागि विनियोजित रकम बिल बिजक र सामान स्टोरमा दाखिला नहुँदै आपूर्तिकर्तालाई पूरै रकम सम्झौता गरेकै दिन भुक्तानी गरी १ करोड २६ लाख रुपैया हिनामिना गरेको पाइएको थियो।