नेपालमा भ्रष्टाचारको अवधारणामा अझै देखिएन सुधार

नेपालमा गतबर्षको तुलनामा यस बर्ष भ्रष्टाचारको अवधारणमा सुधार नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । मंगलवार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचार अवधारणा सूचकांक २०१८ सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रणका प्रयास धेरै मुलुकमा सुस्त गतिमा चलिरहेको तथ्य सार्वजानिक गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्न काठमाडौंमा आयोजित कार्यक्रममा टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले आयात निर्यात, सार्वजनिक सेवा कर भुक्तानी, ठेक्कापट्टा लगाएतका क्षेत्रमा नेपालमा भ्रष्टाचारले बढि प्रश्रय पाएको बताए । उनले बिगतकाे भन्दा माैलाउँदाे अबस्थामा रहेकाे जानकारि दिए । नेपालले गत वर्षको जस्तै यस बर्षपनि ३१ अंक नै पाएको छ र १ सय २४औं स्थानमा छ । गत बर्ष नेपाल १ सय २२औं स्थानमा थियो ।

नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारवाहीमा कमी, राजनीतिक भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या यथावत नै रहेको ट्रान्सपरेन्सीले जनाएको छ । त्यस्तै भ्रष्टाचार अवधारणा सूचकांक २०१८ मा नेपालले पाएको अंकले भ्रष्टाचारको अवस्था चिन्ताजनक रहेको देखिएको टीआई नेपालका अध्यक्ष रेग्मीले बताए ।
सर्वेक्षणमा ट्रान्सपरेन्सी आफैं प्रत्यक्ष संलग्न हँुदैन । विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायले गर्ने सर्वेक्षणका क्रममा संकलन गरिने सूचनालाई विश्लेषण गरेर सूचक निकालिन्छ ।

विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इन्साइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट लगाएतले दिएको अंकको औसत निकालेर प्रतिवेदन तयार गरिन्छ । १०० पूर्णाङ््क मानी तयार गरिने सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुकहरू भ्रष्टाचारग्रस्त मानिन्छन् ।

यस बर्षको सूचकाङ्कमा समावेश १ सय ८० राष्ट्रमध्ये ८८ अंक प्राप्त गरि डेनमार्क सबभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा छ । छिमेकीमुलुक भारत ४१ अंक प्राप्त गरि ७८औ स्थानमा छ ।