थुप्रै हिंसात्मक घटनाका बीच पाकिस्तानमा मतदान सकियो

दिनभरी कम्तीमा ३५ को जनाकाे मृत्यु

थुप्रै हिंसात्मक घटनाहरूका बीच पाकिस्तानमा अाम निर्वाचन सम्पन्न भएको छ । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय समय अनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे अन्त्य भएको घोषणा गरिएको थियो । निर्वाचनको मतपरिणाम भने २४ घण्टाभित्रमा सार्वजनिक हुनसक्ने बताइएको छ । राष्ट्रियसभा, संसद्को तल्लो सदन र चारवटा प्रान्तीय विधानसभाका लागि बुधबार मतदान भएको हो ।

पाकिस्तानमा प्रतिनिधिसभा अर्थात संसद्को तल्लो सदन ३४२ सदस्यीय रहेको छ भने त्यसमध्ये २७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र १० स्थान धार्मिक अल्पसंख्यकका लागि छुट्याइएको छ । प्रतिनिधिसभाको लागि तीन हजार ४५९ जना उम्मेदवार रहेका छन् । यसैगरी खैबर पाख्तुनख्वा, पञ्जाव, बलुचिस्तान र सिन्ध प्रान्तको प्रान्तीयसभाका लागि ५७७ सिट रहेको र आठ हजार ३९६ उम्मेदवार रहेका छन् ।

यस निर्वाचनका लागि करिब १० करोड ६० लाख मतदाताले आफ्नो नाम निर्वाचन आयोगमा दर्ता गराएकोमा करिब छ करोड पुरुष रहेको जनाइएको छ । जनसंख्याका हिसाबले दक्षिण एसियाको दोस्रो ठूलो देशका रूपमा रहेको पाकिस्तानको यस पटकको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

यस निर्वाचनको पूर्वसन्ध्यामा यहाँको सत्तारुढ दल नेशनल मुस्लिम लिगका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ । निर्वाचनको मुखैमा आएर उनलाई दश वर्षको जेल सजाय सुनाइएपछि यहाँको निर्वाचनमा प्रजातान्त्रिक दलहरूको सहभागिता र स्वस्थ एवं निस्पक्ष निर्वाचनका विषयमा आशङ्का पनि उत्पन्न भएको छ ।