किसान मल र सिँचाइ नपाएर हैरान – सरकार धान दिवस मनाउनमा परिसान
सरकारले १५ असारलाई धान दिवसको रूपमा मनाउन थालेयता हरेक वर्ष अनेक प्रकारका तमासा देखिन थालेका छन् । विभिन्न सरकारी निकायले अषाढ १५ मा लाखाैँ रकम खर्च गरेर धान दिवस मनाएका छन् । उच्च सरकारी निकायदेखि बिभन्न संघ संस्थाले धान दिवस मनार्इ रहदा कृषकहरू भने उचित बिउ र सिचाइ नपाएर हैरान छन ।
मन्त्रालयदेखि लिएर स्थानीय तहले धान दिवसमा लाखौं–लाख बजेट दही, चिउरा, मासु, टि–सर्ट बाँडेर सकाएका छन् ।बिभन्न प्रदेशमा अा अाफ्नै तरिकाले मनाएका छन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धान दिवस मनाउन लाखाैँ रुपैयाँ समेत विनियोजन गरेका थिए । उक्त रकम सकाउन धान दिवश मनाउने गरेकाे पाइएकाे छ ।
अनाश्यककाे तडकभडकपुर्ण तरिकाले धान दिवसको आयोजना गरिएकाले किसानलार्इ निरास बनाएकाे जानकारहरू बताउछन । बिभन्न संस्थाद्वारा आयोजित कार्यक्रममा उनीहरूले हलो जोतेर धान रोपाइँ गरेका छन ।
असार १५ सम्ममा पनि किसानले मल नपाएको र आकाशे पानीको भरमा कष्टकरपूर्ण तरिकाले खेती गरिरहेको अवस्थामा मन्त्री तथा सांसदले केही क्षणको लागि धान रोपाइँ गर्नुको कुनै औचित्य नरहेको भन्दै उनीहरूको तीब्र आलोचना भइरहेको छ ।
सरकारी ढुकुटी रित्याउने उद्देश्यले मनोरञ्जनात्मक शैलीमा मनाउने दिवसको कुनै औचित्य नरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको हो ।
यस्ताे छ धान दिवसकाे नाममा तमासा
धान दिवस मनाउने क्रममा महिलालाई दुव्र्यवहार गरेको आरोपमा तीन वर्षअघि तत्कालीन कृषिमन्त्री हरि पराजुलीको मन्त्री पद खोसियो । हरि पराजुलीकृत्यको अर्को वर्ष हरिबोल गजुरलले अर्को तमासा देखाए, घरभित्र गमलामा धान रोपेर । गमलामा धान रोपेर कृषि क्रान्ति गर्न लागेको भन्दै मन्त्री गजुरेलको चर्को आलोचना भयो । केही समयपछि गजुरेल ‘राहदानी’ नामक नेपाली चलचित्र हेर्ने क्रममा डाँको छाडेर रोएको दृष्यले दृष्यले कृषि मन्त्रीलाई चर्चामा ल्याउने काम गर्यो । चलचित्रमा किसानको गाई मरेको दृष्य सम्झिएर गजुरेल रोएको समाचार आएको थियो ।
यस वर्षको धान दिवसमा कृषिमन्त्री चन्द्रप्रकाश खनाल बलदेवको टाउकोमा धान रोपाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । टाउकोमा धानको बिउ राखिएको कुरा पराजुली र गजुरेलको जस्तो विवादमा भने आइसकेको छैन । कतिपय स्थानमा धानको दाइँ गर्ने ठाउँमा बिउको मुठो रोप्ने र ‘मियो पूजा’ गर्ने चलन छ ।
त्यसक्रममा परिवारका वरिष्ठ सदस्यको टाउकोमा धानको बिउ राख्ने समेत गरिन्छ । कृषि पेशाको सम्मान गर्न मन्त्री खनालले टाउकोमा बिउ राखेका हुन् र कृषिलाई शिरोधार्य गरेका हुन् भने यो स्वागतयोग्य कमद हो । जबसम्म कृषि पेशालाई स्वागत गरिँदैन, नेपालको उन्नति र आर्थिक समृद्धि सम्भव छैन ।
तर यसवर्ष पनि अधिकाशं स्थानमा धान दिवसका अवसरमा भएका प्राय कार्यक्रम भड्किला र प्रचारमुखी देखिए । वास्तविक किसानले रासायनिक मल नपाएर धान रोप्न नपाएको र तराईका अधिकाशं जिल्लामा सिँचाइ अभावमा धानको बिउ खेतमा सुकेको समयमा सस्तो प्रचारका लागि रोपाइँ महोत्सव भए । प्रचारका लागि गरिएका कार्यक्रममा धानको बिउको माला लगाइयो, खानपिन र रमाइलो भयो । मानौं धानको बिउको माला लगाएर धान उत्पादन बढ्छ ।