९९ फलफूल तथा तरकारी व्यापारीलाई रेड कार्ड – सम्झौता खारेज हुने

कालीमाटी र बालाजु तरकारी बजारमा व्यापारीले मनोमानी गरेपछि कृषि सहकारी तथा भूमिसुधारमन्त्री चक्रमपाणि खनालले कारवाहीको कदम सुरु गरेका छन्। गत सोमबार कालीमाटी तरकारी बजार अनुगमनमा निस्किएका खनाल त्यसपछि भने व्यापारीको गल्ती हरेर कारवाही प्रकियामा अघि बढेका हुन्।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले अनुगमन गरेपछि गठन भएको उपसिमतिले तयार गरेको प्रतिवेदनमा समितिका अध्यक्ष तेजबहादुर सुवेदी, कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल, किसानका प्रतिनिधि र व्यवसायी गरी ११ सदस्यीय बोर्ड बैठकले ९९ व्यापारीले व्यवसाय नै नगरी अन्य व्यक्तिलाई कारोबारमा संलग्न गराएले भन्दै व्यापार सम्झौता समेत खारेज गर्ने निर्णय गरेको हो।

बजार व्यवस्थापान तथा सुधारका लागि गठन गरेको समितिले व्यापारीको सूची तय गरेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तेजबहादुर सुवेदी, कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल, किसानका प्रतिनिधि र व्यवसायी गरी ११ सदस्सीय बोर्डले कालीमाटी र बालाजु तरकारी फलफूल, तरकारी र माछा व्यापारीलाई चार भागमा विभाजन गरेको छ।

चार भागमा विभाजन गरिएका व्यापारीलाई छुट्टाछुट्टै कार्ड दिइएको छ। सोही कार्डको आधारमा कारवाही गरिने समितिले जनाएको छ। यसअनुसार रातो, नीलो, पहेँलो र सेतो कार्ड दिइएको छ। रातो, नीलो र पहेँलो कार्ड पाउने खतराको सूचीमा रहेका छन् अर्थात् कारबाहीको सिफारिसमा परका छन् भने सेतो कार्ड पाउने भने खतरामुक्त रहेका छन्।

खतराको संकेतस्वरुप लिइएको रातो वर्गिकरणमा पर्ने व्यापारी ९९ जना छन्। उनीहरुले सबैभन्दा धेरै बदमासी गरेको पाइएको छ। उनीहरु बजार क्षेत्रमा उपस्थित नहुने, कारोबारमा संलग्न नरहने, अन्य व्यक्तिलाई कारोबार गर्न दिने, बजार अनुगमन र नविकरणको समयमा मात्र उपस्थित हुने गरेका छन्।

नीलो सूचीमा १ सय ३१ व्यापारी परेका छन्। कारोबारमा कहिलेकाहीँ संलग्न भएपनि स्वयंले निरन्तर कारोबार नगरी अन्यबाट कारोवार गराएको, बजार क्षेत्रमा नियमित उपस्थित हुँदापनि कारोबारमा संलग्नता नदेखिएको, आफन्तबाट कारोबार सञ्चालन गर्ने, विदेशमा रहेका परिवारका सदस्य, आफन्तबाट कारोबार गराएको सम्झौता विपरितका बस्तुको कारोबार गर्ने व्यापारीहरुलाई यो वर्गमा राखिएको छ। उनीहरुले पनि नियम अनुसार बसेको र व्यवसाय गरेको प्रमाणसहित ७ दिन भित्र स्पष्टिकरण बुझाउनु पर्ने निर्णय भएको छ।

पहेँलो समूहमा कहिलेकाहीँ नियम उलंघन गर्नेहरु परेका छन्। उनीहरुले आफू र अन्य व्यक्तिहरुबाट समेत कारोबार गरेको पाइएको छ। यो समूहमा १ सय ५९ जना परेका छन्। यस्ता प्रकारका व्यापारीलाई आगामी दिनमा गल्ती नगर्ने गरी सचेत गराउने निर्णय भएको बताइएकाे छ ।

सेतो सूचीमा पर्नेहरुले पूर्ण रुपमा बजार विकास तथा सञ्चालन नियमावली २०६० र सम्झौत ाअनुसार कार्य गरिरहेको समितिले बताएको छ। उनीहरुलाई ‘यसैगरी नियम पालना गर्नू’ भनेर हौसला प्रदान गर्ने निर्याय भएको छ।

रातो सूचीमा पर्नेमा थोक विक्रेता ४५ जना, सहकारी समूह ५ जना, माछा व्यापारी ६ जना, २४ नं टहराका व्यापारी ५ जना, ३८ नं टहराका व्यापारी २ जना, खुद्रा व्यापारी २१ जना, भण्डारका १४ जना, फलफूल बजारका २ जना र बालाजुका खुद्रा व्यापारी ९ जना रहेका छन्।

नीलो सूचीमा पर्नेहरुमा थोक विक्रेता ६५ जना, फिससेडमा फलफूल गर्ने ८ जना ,सहकारी समूहका १ जना, माछा व्यापार गर्ने ६ जना, २४ नं टहराका व्यापारी १८ जना, ३८ नं टहराका व्यापारी ६ जना, खुद्रा व्यापारी २१ जना, केज भण्डारण १ जना, फलफूल बजार १ जना, बालाजुका खुद्रा व्यापारी १ जना र सटरमा कारोवार गर्ने ३ जना छन्।

पहेंलो लिष्टमा पर्नेहरुमा थोक विक्रेता १ सय ६० जना, सहकारी समूह ८ जना, माछा व्यापारी ११ जना, २४ नं टहराका व्यापारी १ जना ,अठ्तीस नं टहराका व्यापारी १जना, खुद्रा व्यापारी ८ जना, भण्डारमा १ जना, सटर ४, फलफूल बजार ७ जना र बालाजुका खुद्रा व्यापारी ८ जना परेका छन्।

सेतो लिष्टमा पर्नेहरुमा थोक विक्रेता ४० जना, सहकारी समूह १ जना, माछा व्यापारी ३ जना,२४ नं टहराका व्यापारी ६ जना, ३८ नं टहराका व्यापारी ३६ जना, खुद्रा व्यापारी १४ जना, केज व्यापारी ६ जना, गोदाम ११, सटरभाडाका १०, बालाजुका खुद्रा व्यापारी ३२ जना परेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।