कांग्रेस संसदीय दलको नेतामा देउवा, उपनेता गच्छदार
कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले १९ पाए । देउवाले ७० प्रतिशत मत प्राप्त गरे भने रामचन्द्र पौडेल पक्षका सिंहले ३० प्रतिशत मत प्राप्त गरे ।
सुशील कोइरालाको निधनपछि ०७२ चैतमा भएको संसदीय दलको निर्वाचनमा देउवा २०६ भोटमा १३९ मत ल्याएर विजयी भएका थिए । रामचन्द्र पौडेल ६७ मत ल्याएर पराजित भएका थिए । देउवाले त्यतिखेर ६७.४७ प्रतिशत र पौडेलले ३२.५३ प्रतिशत मत ल्याएका थिए । तर, दुई वर्षपछि आफ्नो शक्ति झन् बढाएका छन् । पौडेल पक्ष भने झन्झन् खस्किएको छ ।
प्रत्यक्षतर्फ पार्टीले जितेको २३ सिटमा देउवा पक्षले ११ जित्दा पौडेल पक्षले नौ र सिटौला पक्षले तीन सिट जितेको थियो । तर, समानुपातिकका ४० सिटमा देउवाले २८ सांसद आफ्नो पक्षका पार्न सफल भए । समानुपातिकमा आफ्नो पक्षको वर्चस्व हुने गरी नै सभापति देउवा पक्षले सूची बुझाएको थियो । प्रत्यक्षमा हाराहारी जिते पनि समानुपातिकबाट देउवा हाबी भएका हुन् ।
यसअघि, देउवा तीनपटक संसदीय दलको नेता चयन हुँदा तीनैपटक प्रधानमन्त्री बनेका थिए । यसपटक वाम गठबन्धनको वर्चस्व भएपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनिसकेको छ र पूरा कार्यकाल जाने निश्चितजस्तै देखिन्छ । यसअघि, २०५२, २०५६ र २०७२ मा देउवा संसदीय दलको नेतामा चयन भएका थिए ।
पार्टी प्रवेश गरेलगत्तै गच्छदार उपनेता
संसदीय दलको नेतामा चयन भएपछि पहिलो बैठकबाटै देउवाले विजयकुमार गच्छदारलाई उपनेता बनाए । प्रतिनिधिसभा निर्वाचनको केही समय अघि मात्रै फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका गच्छदारलाई देउवाले उपनेतामा चयन गरेका हुन् ।
सर्वसम्मतमा शशांकका आँखा
सर्वसम्मत भएको भए महामन्त्री कोइरालाले आफैँ दलको नेतामा अघि बढ्ने तयारी गरेका थिए । तर, देउवाले नछाड्ने भएपछि उनलाई सर्वसम्मत हुन नदिन पौडेल पक्षले सिंहलाई अघि सारेको हो । तर, पनि अपेक्षित मत यो पक्षले ल्याउन सकेन । पछिल्लो समय सिटौला पक्ष देउवासँग असन्तुष्ट भएपछि पौडेल पक्षले सिटौला पक्षका भीमसेनदास प्रधानबाहेक दुई मत र देउवा पक्षकै केही मत तान्न सक्ने अपेक्षा गरेको थियो । तर, उनीहरूले सोचेभन्दा भिन्न परिणाम आयो । एक नेता देउवा खेमामै गए ।
प्रमुख सचेतक, सचेतक र समितिमा सभापति बन्न पाउने आशासमेतले सांसदहरूले भोट क्रस गरेको एक केन्द्रीय नेता बताउँछन् । शशांक उठेका भए देउवाले ३६ र शशांकले २७ मत ल्याउने अनुमान थियो । तर, शशांक अघि नबढ्दा र सक्रिय नहुँदा देउवा झनै हाबी भएका हुन् । पौडेल पक्षकै नेता बडु महामन्त्री कुनै पक्ष र विपक्षमा नलागेको बताउँछन् । ‘महामन्त्रीले पक्ष र विपक्षमा लागेर सक्रिय हुन्न भन्दै आउनुभएको छ’ उनले भने, ‘उहाँले एक ठाउँमा भोट हाल्नुभयो होला, तर पक्ष र विपक्षमा नखुल्नुभएको हो ।’ १३औँ महाधिवेशनबाट सभापतिमा देउवा र महामन्त्रीमा शशांक निर्वाचित भएदेखि नै यी दुई नेताबीच खासै विवाद छैन । पार्टी सञ्चालन प्रक्रियामा सभापतिलाई सहयोग नै गर्नुपर्छ भन्ने मान्यता शशांकले राख्दै आएका छन् ।
सिटौला पक्षको पनि मत बाँडियो
कांग्रेसमा सिटौला पक्षबाट निर्वाचित तीन सांसद थिए । जसमा भीमसेनदास प्रधान र उमाकान्त चौधरीले देउवालाई भोट दिएका छन् । युवा नेता गगन थापाले भने सिंहलाई भोट हाले । सिटौला पक्षबाट प्रधान र चौधरीलाईसमेत सिंहलाई भोट हाल्न अन्तिमसम्म मनाउन पहल गरिएको थियो । तर, दुवैले देउवालाई भोट हाले । प्रधान सिंहसँग सधैँ असन्तुष्ट रहँदै आएका नेता हुन् । चौधरीले पनि देउवालाई नै भोट दिए । सभापति र दलको नेता एकै व्यक्ति हुन नहुने भन्दै अडान लिँदै आएका थापाले मात्र सिंहलाई भोट हाले ।
गगन, प्रदीपलगायतको पहल जारी रहने
पार्टी सभापति र संसदीय दलको नेता एकै व्यक्ति हुनु हुन्न भन्दै गगन थापा, प्रदीप पौडेललगायत युवा नेताहरूले अभियान नै चलाएका थिए । तर, प्रयास अहिलेका लागि असफल भयो । यद्यपि, टुंगोमा नपुगेसम्म आगामी दिनमा पनि लागिरहने यी नेताहरूले बताएका छन् । ‘पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने निष्कर्षका साथमा दलको नेता नयाँ बनाउन सभापतिलाई हामीले निरन्तर आग्रह गर्दै आयौँ, आग्रह काम लागेन । मतदानबाट नेतृत्व परिवर्तन गर्न सकेनौँ’ सांसद थापाले नयाँ पत्रिकासित भने, ‘नेतृत्व परिवर्तन गराउने प्रयासको थालनी भएको छ । टुंगोमा नपुगेसम्म लगातार अभियान अघि बढाउँछौँ ।’
दलको नेता चुन्ने निर्वाचनमा सिंहलाई जिताउने भन्दा पनि देउवाको बढ्दो वर्चस्व कम गराउने रणनीतिमा युवा नेताहरू लागेका थिए । तर, महामन्त्रीदेखि पौडेल पक्ष नै खुलेर सिंहको पक्षमा नलागेपछि देउवा झन्झन् शक्तिशाली बन्दै गएको उनीहरूको निष्कर्ष छ । ‘हामीले शेरबहादुरले हार्छन् भनेर यो अभियान गरेका होइनौँ । एउटै व्यक्ति धेरै शक्तिशाली हुनु राम्रो होइन भनेर शक्ति घटाउँदै जानुपर्छ भन्नेमा हौँ’ एक युवा नेता भन्छन् । नयाँपत्रिकामा खबर छ ।