योगी आदित्यनाथलाई भेटेलगत्तै पूर्वराजा ज्ञानेन्द्रले जारी गरे यस्तो विज्ञप्ति

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको सार्वभौमिकता र स्वतन्त्रता मक्किदै गएको बताएका छन् । २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शुभकामना वक्तव्य जारी गर्दै पूर्वराजा शाहले सो कुरा बताएका हुन् । शाहले मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किदै गएकोले हिमाल, पहाड र तराईमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरुले सामाजिक एकताको कडीमा रहनुपर्नेमा जोड दिएका छन् ।

पूर्वराजा शाहद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तनपश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएको छ, । आफ्नै भुमिभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवम् सामाजिक एकताको कडीमा राख्नूपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसात गर्नूपर्दछ । निर्दयी कदम चाल्नेहरुलाई, जनतामा आएको सचेतनाले, नेपालको अस्तित्व नै खतरामा पर्ने त्रास उत्पन्न भइरहेको वर्तमानमा,सम्भालिएर अघि बढ्नुपर्ने वाध्यतामा पूर्याई दिएको छ ।’

पूर्वराजा शाहले विज्ञप्तिमा मुलुकको समष्टिगत एकता,मौलिक संस्कृति,धर्म,संस्कृति,परम्परा र विशिष्ट पहिचानको समग्र रुप भएको जनाउँदै देश रहे मात्र धर्म, संस्कृति, परम्परा र पहिचान रहन सक्ने समेत बताएका छन् । नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको समेत दाबी गर्दै शाहले नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव विथोल्न अनेकौं प्रयासहरु जारी रहेको दाबी गरेका छन् । पूर्वराजा शाहले राष्ट्रिय धर्म, परम्परा, संस्कृति, राष्ट्रिय एकता र स्थायित्वको निम्ति थप प्रतिवद्धताका साथ जागृत हुनुपर्ने अवस्था आएको समेत स्पष्ट पारेका छन् ।

केही दिनअघि भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेलगत्तै शाहद्वारा जारी विज्ञप्तिमा विशेषगरी मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, हिन्दुधर्म, संस्कृति र परम्परा खतरामा परेको जनाउँदै त्यसलाई जोगाउन गरिएको आह्वानलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ । पूर्वराजा शाहलाई मुख्यमन्त्री योगीले भ्रमणका क्रममा विशेष सम्मान समेत गरेका थिए । विज्ञप्तिमा शाहले पूरानो नेपालको जगेर्ना गरेर मात्र नेपाल बनाउन सकिने वास्तविकता आत्मसात गर्दै राष्ट्रिय स्वाभिमान पूनर्उत्थान तथा समृद्घिका निम्ति एकतावद्ध भई क्रियाशील बन्न समेत सबैमा आग्रह गरेका छन् ।