जाजरकोट जुनीचाँदेमा फैलिएको भाईरल बढ्दो क्रममा

अाैषधी किन्ने पैसा नभएर एक शिशुको मृत्यु

दुई साता पहिले देखि जुनी चाँदे गाउँपालिकामा फैलिएको भाईल नियन्त्रण हुनुको अलावा बढ्दो क्रममा देखा परेको छ । सोमवार मात्रै एक ३६ दिनका शिशुको मृत्यु भएको छ । सोमवार मृत्यु हुने शिशुमा जुनी चाँदे गाउँपालिका–२ मौगानाका भुपेन्द्र नेपाली रहेका छन् । शिशुको मृत्यु पश्चात मृत्यु हुनेहरुको संख्या ११ जनाको पुगेको छ ।

मृत्यु हुनेहरुमा जुनीचाँदे–२ का मनोज तिरुवाको मृत्यु निमुनियाले भएको जिल्ला जनस्वाथ्य कार्याल, जाजरकोटले वताएको छ । जन्मेको १० दिन भित्रै गत मंसिर ८ गते तिरुवाको ज्यान गएको कार्यालको दावी छ । त्यसैगरी जुनीचाँदे–३ की रेवना नाथको मृत्य गत मंसिर २२ गते सुन्निएर मृत्यु भएको कार्यालले वताएको छ । उनी २५ महिनाकी बालिका हुन् । त्यसैगरी जुनीचाँदे–२ का धिरेन्द्र शाहीको मृत्यु गत मंसिर २७ गते भएको कार्यालले जानकारी दिएको छ । शाही २५ दिनका शिशु हुन । उनको ढाडमा पानी जमेको फोका भएको र उक्त फोका फुटेर मृत्यु भएको कार्यालले दावी गरेको छ । जुनीचाँदे–२ कै १० महिनाका रशेम शाहीको मृत्यु यहि पुस ४ गते संक्रमणवाट भएको कार्यालयले वताएको छ । जुनीचाँदे–२ कै ७ दिनका नवजात शिशु खड्कबहादुर शाहीका छोरा यहि पुस ४ गते अत्याधिक चिसोका कारण संक्रमण भएर मृत्यु भएको वताईएको छ ।

त्यसैगरी जुनीचाँदे–२ का ७० बर्षिय आईते तिरुवाको मृत्यु यहि पुस ५ गते दीर्घ रोग दम र मुटु रोगवाट भएको वताईएको छ । जुनीचाँदे–३ का ५४ बर्षिय करसिंह टमट्टाको मृत्यु यहि पुस ११ गते दमकै रोगका कारण भएको वताईएको छ । जुनीचाँदे–२ का ७९ बर्षिय सतरुप शाहीको मृत्यु यहि पुस १५ गते दमकै रोगवाट भएको कार्यालयले जनाएको छ । जुनीचाँदे–२ का १ महिनाका शिशु खडक परियारको मृत्यु यहि पुस १५ गते निमुनियाले भएको वताईएको छ । त्यसैगरी जुनीचाँदे–२ कि ५४ बर्षिय धनसरा नाथको मृत्यु यहि पुस १९ गते मौसमी रुघाखोकीले भएको कार्यालयले दावी गरेको छ । त्यसैगरी सोमवार मृत्यु हुने शिशु जुनीचाँदे–२ मौगानाका भुपेन्द्र नेपाली आईतवार घुम्ती शिवीरमा उपचार गराएर घर फर्केका थिए ।

प्रकोप प्रभावित क्षेत्रमा पुगेका डा. पवन साक्यका अनुसार उनलाई आबश्यक औषधीको डोज पुरा गर्न सुई किन्नु पर्दथ्यो तर, उनका अभिभावकसंग सुई किन्न सक्ने पैसा नभएपछि शिशुले ज्यान गुमाउनु परेको हो । दुई साता पहिले जुनीचाँदे गाउँपालिकामा फैलिएको भाईरल ज्वरो सम्बन्धि जानकारी गराउन सोमवार पत्रकार भेटघाट कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयले यस्तो वताएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जम्मा जम्मी मृत्यु हुनेहरुको संख्या ११ पुगेको छ । ११ जना मध्ये नाबालक र नवजात शिशु गरी मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ ।

आउट ब्रेकका रुपमा फैलिएको भाईरल ज्वरोको प्रकोप दैनिक रुपमा बढ्दै गएको जिल्ला जनस्वास्थ्य प्रमुख रामबहादुर विकले वताए । घुम्ती शिवीर तथा स्वास्थ्य संस्थामा भाईरल ज्वरोका विरामीहरुको संख्या बढ्दै गएको छ प्रमुख विकले भने–‘जाडो मौषममा पोषणयुक्त खानेकुराको अभाव हुनु, व्यक्तिगत तथा वातावरणिय सरसफाईमा कमिका कारण मौषमी फ्लुसंग प्रतिरोधात्मक क्षमताका कमि आएको देखिन्छ ।’

जुनीचाँदे–२ बढकुल्या स्थित स्वास्थ्य चौकीमा दैनिक ६ देखि ८ जनासम्म रुघाखोकी र ज्वरोका बिरामी आउने स्वास्थ्य चौकीमा यहि पुस १२ गते रुघाखोकी र ज्वरोका विरामीको संख्या बढेर १९ पुगेको स्वास्थ्य चौकीको रेकर्डले देखाएको छ । १५ गते सनिवारको दिन पनि उक्त स्वास्थ्य चौकीमा ८ जना रुघाखोकी र ज्वरोका विरामीलाई उपचार गरिएको छ । विभिन्न स्वास्थ्य सेवा दिई रहेको उक्त स्वास्थ्य चौकीमा २० गते मात्र २९ जना रुघाखोकी र ज्वरोका विरामीलाई उपचार गरेको छ । त्यसैगरी २१ गते ३६ जना, २२ गते सनिवार १३ जना, २३ गते ६३ जना रुघाखोकी र ज्वरोका विरामीलाई उपचार गरिएको स्वास्थ्य चौकीको रेकर्डमा उल्लेख गरिएको छ ।

घुम्ती शिवीर सञ्चालन गर्दै घरदैलोमा पुगेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले हिजो सोमवार मात्रै २ सय ८९ जना रुघाखोकी र ज्वरोका विरामीलाई उपचार गरेको जिल्ला जनस्वास्थ्य प्रमुख विकले जानकारी दिएका छन् । प्रकोप प्रभावित क्षेत्रमा उपचारका लागि १० जना स्वास्थ्यकर्मी र एक मेडिकल अधिकृत नियमित रुपमा खटिएको प्रमुख विकले जानकारी दिए । त्यसैगरी नेपाली सेनाको ज्वालादल गणको मेडिकल टीम पनि त्यस क्षेत्रमा २३ गते देखि नियमित रुपमा परिचालन भैरहेको छ । गर्खाकोट र पञ्चालावाट प्रहरी टोलीलाई पनि नियमित रुपमा त्यस क्षेत्रमा परिचालन गरिएको जनाईएको छ । डा. भुपेन्द्र मल्लको नेतृत्वमा ४ जना अन्य स्वास्थ्यकर्मी र थप औषधी सहित मंगलवार नै जिल्ला सदरमुकाम खलंगा देखि त्यसक्षेत्रमा थप टोली परिचालन गरिने प्रमुख विकले जानकारी दिएका छन् ।