वर्षौंदेखि विरामी जाँच्ने अस्पताल आफै ‘सिकिस्त’कागजमा मात्र ५० शैया

उपेक्षामा जाजरकोट जिल्ला अस्पताल

भेरी नगरपालिका २ जाजरकोटकी चन्द्रकला वली सुरक्षित प्रसुतीका लागि जिल्ला अस्पताल पुगिन् । सुरक्षित प्रसुतीका लागि अस्पताल पुगेकी उनलाई शल्यक्रिया गरेर घर नफर्किउन्जेलसम्म सुरक्षित महसुस नै भएन । ‘अस्पताल छउँन्जेल ज्यान नै तलमाथि हुने हो कि भन्ने डरले सताइरह्यो’ चन्द्रकला भन्छिन्, ‘जब अप्रेशन गरेर सकुशल घर फर्किएँ त्यसपछि मात्रै ढुक्क भएँ ।’

सुरक्षित प्रसुतीकै लागि भनेर अस्पताल पुगेकी चन्द्रकलालाई यसरी डराउनुपर्ने अवस्था किन त ? उनी थप्छिन्, ‘अस्पताल भनेर के गर्नु ? सामान्य रोगका औषधिसमेत पाइँदैन, डाक्टर पनि छैनन् । चाहिने उपकरणहरु पनि छैन भन्छन्, यस्तो अस्पतालमा कसरी ढुक्क हुनु ?’ उनले आफै विरामी अवस्थामा रहेको असक्त अस्पतालले आफ्नो उपचार गर्छ भन्ने मै विस्वास गर्न गाह्रो हुने गरेको बताईन् ।

यस्तै त्रिवेणी नलगाड नगरपालिका– १ कि धर्मशिला पुनलाई पनि जाजरकोट जिल्ला अस्पताल जानै नपरे हुन्थ्यो जस्तो लाग्छ । विरामी भइहाले पनि सुर्खेत वा नेपालगन्ज जान पाए हुन्थ्यो सोच्छिन् उनी । तर कमजोर आर्थिक अवस्थाका कारण केही परिहालेमा जाने ठाउँ त्यही हो, जाजरकोट जिल्ला अस्पताल । गत भदौमा जाजरकोट अस्पतालवाट पाठेघरको शल्यक्तिया गराएकी धर्मशिलालाई पनि चन्द्रकला जस्तै अस्पताल छउँञ्जेल ज्यान तलमाथि पर्ने हो कि भन्ने डरले सताइरह्यो । शल्यक्रिया सकेर घर फर्किएपछि मात्रै आफ्नो ज्यान बाँचेकोमा ढुक्क भएको उनी बताउँछिन् । चन्द्रकला र धर्मशीला मात्र होइन, जाजरकोटका अधिकांश नागरिक जिल्ला अस्पतालबाट सेवा लिनै डराउँछन् । विरामी जाँच्ने अस्पताल आफै ‘सिकिस्त’ भएपछि अस्पतालप्रति नागरिकको विस्वास गुम्दै गएको छ ।

कागजमा ५० शैया, अस्पतालमा २५ मात्र

जिल्ला अस्पताल जाजरकोट कागजमा ५० शैयाको हो । तर अस्पतालमा हाल २५ शैया मात्रै सञ्चालनमा छन् । १५ शैया रहेको जाजरकोट अस्पताल मन्त्रीपरिषदको निर्णयबाट २०७३ जेठ १० गते ५० शैयामा स्तरोन्नती गरिएको थियो । जाजरकोट अस्पताललाई ५० शैयामा स्तरोन्नती गरिएको भनिएता पनि हाल २५ शैया मात्र सञ्चालनमा ल्याइएको छ । सरकारले कागजमा अस्पतालको स्तरोन्नती गरेपनि त्यसको कार्यान्वयन हुन नसक्दा जाजरकोटवासीले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् । ‘अस्पताललाई ५० शैयाको बनाइएको पनि एक वर्षभन्दा बढी भइसक्यो’ चन्द्रकला वलीले भनिन्, ‘तर अस्पतालमा शैया थपिएको छैन, न त अरु आवश्यक पूर्वाधार नै विकास भएको छ ।’ राज्यले पनि कागजमा स्तरोन्नती देखाएर जाजरकोटवासीलाई ठगेको बताउँछिन् उनी ।

अधिकांश दरबन्दी रिक्त

मन्त्रालयले जाजरकोट जिल्ला अस्पताललाई ५० शैया अनुसारकै दरबन्दी निर्धारण गरेको छ । तर यो अस्पतालले स्थापनादेखि नै दरबन्दी अनुसारका सबै कर्मचारी पाउन सकेको छैन । अस्पतालका अधिकांश दरबन्दी रिक्त छन् । नौ जना बिशेषज्ञ डाक्टरको दरबन्दी भएको अस्पतालमा हालसम्म एक जना पनि बिशेषज्ञ डाक्टर छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. राजीव शाहद्धारा प्रसुती शल्यक्रिया सेवा सञ्चालन गरिएको छ । एउटा दरबन्दी रहेको फिजोथेरापी डाक्टरको दरवन्दी पनि खाली रहेको छ । चार जना मेडिकल अधिकृत दरबन्दीको मात्र पदपुर्ति भएको छ । पाँच जना हेल्थ असिस्टेन्टको दरबन्दीमा दुई जनाको मात्र पदपुर्ति भएको छ ।

उपेक्षामा अस्पताल

जिल्ला अस्पतालमा दैनिक ८० देखि ९० जना विरामी स्वास्थ्य सेवा लिन आउने गरेको अस्पतालको तथ्यांकमा छ । तर अस्पताल भने, जनशक्ति र पूर्वाधार अभावको समस्याबाट ग्रस्त छ । न आवश्यक भौतिक पूर्वाधार छ, न त दरबन्दी अनुसारको जनशक्ति । अस्पतालमा सधैं औषधिकोसमेत अभाव भइरहने गरेको छ । तर अस्पताल सुधार गर्न सम्बन्धित निकायबाट ध्यान नपुगेको यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई तलबभत्ता खुवाएर मात्र अस्पतालको सेवा सुधार हुन नसक्ने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले दिने स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक औषधी तथा सामाग्री खरिद गर्नुपर्ने र भौतिकपूर्वाधार निर्माण तथा मर्मत गर्नुपर्ने स्थानीयको माग रहेको छ । जाजरकोट अस्पतालवाट दैनिक ८० देखि ९० जना विरामीले स्वास्थ्य सेवा लिने गरेका छन् । अस्पतालमा गत आर्थिक बर्षमा खरिद गरेर उपयोग गरेर बचेको औषधीले विरामीहरुको उपचार गर्ने गरिएको छ ।

बजेट अभाव

अस्पतालमा औषधि र अन्य उपकरणको अभाव भए पनि त्यसका लागि आवश्यक बजेट नै छैन । चालु आर्थिक वर्षमा भेरी नगरपालिले अस्पतालका लागि स–सर्त बजेट एक करोड ५७ लाख ३८ हजार विनियोजन गरेको छ । तर उक्त बजेटबाट अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीको मासिक तलवभत्ता र कर्मचारीहरुले खाईपाई आएका विभिन्न सेवा–सुविधाहरु मात्र रहेको भेनपाका लेखापाल डम्मर बिष्ठले जानकारी दिए । औषधी तथा उपकरण खरिद, भौतिकपुर्वाधार निर्माण तथा मर्मतका लागि बजेट नआएको विष्टले जनाए ।

अस्पताल कसको मातहतमा रहने भन्ने नै निक्र्यौल नहुँदा थप समस्या देखिएको छ । ५० शैयाको अस्पताल नगरपालिका मातहतमा रहन्छ कि रहदैन भन्ने कुरा आफुहरुलाई जानकारी नभएकाले नगरसभाले अस्पतालको औषधी तथा उपकरण खरिद, भौतिकपूर्वाधार निर्माण तथा मर्मतका लागि कुनै बजेट बिनियोजन गर्न नसकेको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश (सिपी) घर्तीले बताए । नगरसभा सम्पन्न पश्चात प्राप्त स्थानीय तह सञ्चालन कार्यविधी २०७४ मा न्युनतम २५ शैयाको अस्पताल नगरपालिका अन्तर्गत रहनेछ भनिएको भएता पनि भेरी नगरपालीकाको आन्तरिक श्रोतका रुपमा रहेको करवाट बार्षिक रुपमा जम्मा हुने १५÷२० लाख बजेटबाट अस्पतालको ब्यबस्थापन गर्न सम्भव नभएको नगर प्रमुख घर्तीको भनाई छ ।

पूर्वाधारको कमी

शल्लिक्रिया सेवा दिनका लागि अस्पतालमा उपयुक्त अप्रेशन कोठा हुनपर्ने स्त्रीरोग विशेषज्ञ डा. राजीव शाह बताउँछन् । विरामीको अबस्था हेरी अप्रेशन कोठा भित्रै तातो, चिसोको व्यव्स्था गर्नुपर्ने बताउदै विशेषज्ञ डा. शाहले भने,‘अप्रेशन कोठा निकै साँघुरो छ, अप्रेशन औजारहरु राख्ने पर्याप्त ठाउँ पनि छैन । अप्रेशन कोठाभित्रै एट्याच बाथरुम हुनुपर्छ, त्यो पनि छैन, कोठाको माथिभागमा पुरै प्लाइउड राखिएको छ, त्यसलाई किराले खाएर वा कुहिएर धुलो झर्यो भने अप्रेशन गरिएको घाउँमा परेर ईनफ्याक्सन भई भयानक रुप लिन सक्छ ।’

अप्रेशन सेवा सुरु गरिसकेपछि अस्पतालमा एम्बुलेन्स, ब्लडबैंक, आईसीयु, अक्सिजन, जेनेरेटरको व्यवस्था गर्नुपर्ने बताउदै बिशेषज्ञ डा. शाहले भने,‘अप्रेशन सफल हुन नसकेमा आपतकालिन अवस्थामा विरामीलाई नेपालगञ्ज, चितवन लगाएतका ठाउँमा सहज रुपमा पुर्याउन सकिने व्यवस्था नगरेर अप्रेशन सुरु गर्न मिल्दैन ।’ तर अस्पतालमा यस्ता अत्यावश्यक पूर्वाधार नै नभएको उनले जनाए । भौतिक पूर्वाधार, आवश्यक उपकरण र पर्याप्त औषधी अभावमा अस्पताल आफै विरामी जस्तै बनेको स्थानीयवासीको गुनासो छ ।

विगतका वर्षहरुमा झाँडापखाला, स्वाइनफ्लु तथा ईन्फुलुएन्जा जस्ता महामारीको प्रकोपवाट ठूलो मानवीय क्षति बेहोरिसकेको जाजरकोटमा जिल्ला अस्पताल नै विरामीजस्तै सिकिस्त भएपछि यहाँका नागरिक चिन्तित बनेका छन् । अस्पताल सुधार गर्नेतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । अस्पतालमा सुधार नहुँदा यहाँका नागरिकहरु सामान्य उपचारका लागि पनि रकम खर्चेर जिल्ला बाहिर जान बाध्य छन् ।

(क्रियाशील पत्रकार मञ्च नेपालका लागी)