सञ्जीव गौतमका लागि नागरिक उड्डयान प्राधिकरण बन्यो दुहुनो गाई

अख्तियारमा उजुरीको चाङ,छैन कतै सुनुवार्इ

नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ लागे पनि उनीहरुविरुद्ध कुनै छानविन भएको छैन । जुन पार्टीका मन्त्री आएपनि पैसाको बलमा महानिर्देशक बन्न माहिर रहेका गौतमले अख्तियारलाई समेत सेटिङमा पार्न सफल भएको भन्दै नजिककाहरुलाई बताउँदै आएका छन् त अख्तियार भने मौन छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको जिम्मेवारी पाएका तत्कालीन मन्त्री, तथा कांग्रेसका नेता जीवन बहादुर शाहीलाई प्रभावमा परेर नागरिक उड्डयन प्राधिकरणमा टिक्न सफल भएका उनले प्राधिकरणलाई दुहुनो गाई बनाएका छन् । स्रोत भन्छ– हुम्लामा बस्दा शाहीलाई टिकट काटिदिएको भन्दै उनले आफूलाई नहटाउन आग्रह गरेका थिए । र, पछि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल मार्फत एक करोड रुपैयाँ मन्त्रि शाहीलाई बुझाएर उनि प्राधिकरणमै रजगज गर्न सफल भए । त्यसपछि आएका मन्त्रि जीतेन्द्र देवलाई पनि रकमको मोह जालमा पारेर अहिलेसम्म उनी प्राधिकरणमा हालीमुहाली गरिरहेका छन् ।

गौतमले पदीय दुरुपयोग गर्दै विभिन्न व्यवासयीलाई गैरकानुनी रुपमा सञ्चालन अनुमति दिने, जग्गा भाडामा लगाउने, निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध विमानस्थललाई चाहिने भन्दा बढी जग्गा खरीद गर्ने र अकुत सम्पत्तिमा अख्तियारमा उजुरीको चाङ लागेको छ । प्राधिकरण स्रोत भन्छ– कसरी हुन्छ गौतम रकम कमाउँनमै मस्त छन् । पैसा भएपछि नेताहरुलाई खरिद गर्ने सिद्धान्त अनुसार रकम असुलीमा मात्रै गौतमको ध्यान रहेको देखिन्छ ।

२०७४ भदौ १ गते पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार तथा नागरिक उडड्यान प्राधिकरणको पदपूर्ति, नियुक्ति तथा पदस्थापनामा भएको जालसाजी र अनियमितता छानबिन गर्न पहिलो उजुरी परेको थियो । त्यसपघि २०७३ साल जेठ ८ गते कानुन विपरीत हेली एयरलाई पोखरा आधार क्षेत्र बनाएर उडान अनुमति दिएको र त्यस उपर कारबाही गरिपाऊँ भन्ने दोस्रो उजुरी दर्ता भयो भने २०७३ साल कात्तिकमा गौतमवुद्ध विमानस्थल निर्माणका लागि भन्दै लागत लाभ विश्लेषण बिनै अनावश्यक रुपमा जग्गा खरीद गर्दा राज्यलाई २४ अर्ब रुपैयाँ नोक्सान भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तेस्रो उजुरी परेको छ । त्यस्तै विना प्रतिस्पर्धा जग्गा हिमालय एयरलायन्सलाई दिएपछि अख्तियारमा उजुरी परेको थियो । उजुरी नम्बर ४८२३ रहेको पत्रमा प्राधिकरणको महानिर्देशक संजीव गौतमले नियमविपरित जग्गा उपलब्ध गराएको र त्यसमा ठूलो आर्थिक चलखेल रहेको आरोपसमेत उजुरी परेको भएपनि उनीमाथि गभ्भीर छानविन हुन सकेको छैन ।

गौतमले अकुत सम्पति कमाएको उजुरी परेपछि अख्तियारले पटक–पटक बयानका लागि बोलाइसकेको छ तर त्यो देखावटी मात्रै जस्तो देखिएको छ । गौतमले हिमालयन एयरलाई विना प्रतिस्पर्धा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जग्गा उपलब्ध गराएको, पोखरा विमानस्थल बनाउन चाहिने ठाउँको जग्गा नलिएको र चाहिने ठाउँको जग्गा लिएको, भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण गर्न चाहिने भन्दा झण्डै २४ अर्ब रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा लिएको, हेली एयरलाई गैर कानुनी रुपमा पोखरालाई आधार क्षेत्र स्वीकृति दिएको विषयमा उजुरी परेको छ ।त्यसमध्ये अख्तियारले हिमालयन एयरलाईलाई विना प्रतिस्पर्धा किन जग्गा दिएको भनेर क्यानका महानिर्देशक गौतमलाई स्पष्टिकरण लिएको छ ।

अख्तियारले पत्र नै काटेर अबदेखि कानुन सम्वत् गर्न निर्देशन दिएको थियो । तर, अख्तियारको निर्देशनलाई लत्याउँदै गौतमले सिनामंगलको जग्गा वेद उप्रेती ट्रस्टलाई विना प्रतिस्पर्धा दिएको छ । त्यसैगरी गौतमले सिनामङलकै अर्को सरकारी जग्गा काठमाडौं मेडिकल कलेज (केएमसी)लाई दिएका छन् । गौतमले सिनामङलको प्राइम लोकेसनमा भएको जग्गा मनलाग्दी रुपमा दिएका हुन् । गौतम विरुद्ध उजुरीको चाङ लागे पनि अख्तियारले उनीविरुद्ध केही गर्न नसकेको क्यान स्रोतले बताएको छ । मन्त्री, सचिव तथा नेतालाई खुसी पार्न माहिर मानिएका गौतमले अख्तियारलाई समेत रिजाएको स्रोतको दाबी छ । अख्तियारले अकुत सम्पत्ति कमाएको उजुरी र हिमालयन एयरलाई विना टेन्डर एयरपोर्टमा जग्गा उपलब्ध गराएको विषयमा र पोखरालाई आधार क्षेत्र बनाएर अल्ट्रालाईटलाई उडान अनुमति दिएकोमा मात्रै कारबाही अघि बढाएको छ ।

अकुत सम्पत्तिको बारेमा अख्तियारले अहिले पनि गौतमलाई बयानका लागि बोलाइरहेको छ भने, हिमालयन एयरको बारेमा पत्र नै काटेर अब आइन्दा टेन्डरमार्फत जग्गा उपलब्ध गराउन निर्देशन दिएको थियो । तर, त्यसबाहेक अन्य कुनै पनि उजुरीलाई गम्भीरतापूर्वक नहेरहेको पाइएको छ । अहिले गौतमले आफू निकटकाहरुलाई पूर्व पर्यटन सचिव तथा अख्तियारका आयुक्त गणेशराज जोशी आफ्नो प्रभावमा रहेको बताउँदै हिडन थालेका छन् भने अख्तियारकै पर्यटन महाशाखा हेर्ने सहसचिव पदमराज पाण्डेले समेत गौतमलाई बचाउन भूमिका खेलिरहेको स्रोतको भनाई छ । उनकै कारण उनीमाथि परेका उजुरीहरुको बिषयमा अख्यितार मौन बसेको हो । न्युज 24 बाट