अाेली भन्छन-गोठालाको छोरो हुँ घरानियाँजस्तो शासकीय दम्भ छैन

एमाले अध्यक्ष केपी ओलीले हली–गोठालाको छोरो भएकाले आफूमा उच्च घरानियाँजस्तो शासकीय अहंकार र दम्भ नभएको बताएका छन् । सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा ओलीले आफूमा अहंकार नभएको बताएका हुन् ।

ललितपुरको बाँडेगाउँस्थित सन्त नेता भट्टराईको आश्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएका ओलीले सेवकका रूपमा देश र जनताका पक्षमा बाँकी जीवन समर्पण गर्ने बताए । ‘मैले संसदबाट राजीनामा दिने क्रममा बताएको थिएँ, यो समयको समाप्ती होइन, चालू छ, त्यो मेरो मसिनो स्वरको वार्निङ थियो,’ ओलीले भने, ‘मलाई अहिले प्रदीपजीले त्यस्तै स्वरमा वार्निङ दिनुभो’, अहंकारको कुरा गर्नुभो’ । तर, म गाईभैँसी र बाख्रा चराएर हुर्किएको व्यक्ति हुँ, मसँग शासकीय चरित्र छैन, मान्छेले शासक ठान्लान् तर म आफूलाई सेवक ठान्छु ।’ ओलीअघि बोलेका कांग्रेस नेता प्रदीप गिरिले श्री ३ जतिक्कै प्रभावशाली व्यक्तित्व भनेपछि ओलीले प्रतिवाद गरेका थिए । कार्यक्रममा उनले राणा शासनको अन्धकार युगबाट मुलुकलाई प्रजातन्त्रको उज्यालो युगमा ल्याउने सन्त नेता भट्टराई आफ्ना लागि पितातुल्य सम्मानित व्यक्तित्व भएको बताए ।

ओलीले भट्टराईजस्ता त्यागी नेताबाट धेरै गुण अनुसरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कांग्रेस नेता गिरिले ओलीलाई किसुनजी र गणेशमान जतिक्कै शक्तिशाली नेता भन्दै प्रतिपक्षसँग नरम व्यवहारबाट प्रस्तुत हुन ध्यानाकर्षण गराएका थिए ।

उपस्थित भएनन् देउवा 

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा निम्त्याइएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित भए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पिएल सिंहले कांग्रेस नेतृत्व भट्टराईले देखाएको बाटोबाट च्यूत भइसकेको आरोप लगाए । कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले पनि भट्टराईको योगदानमाथि चर्चा गरेका थिए ।