यस्तो पो रहेछ ओली भारतसँग खुसी हुनुको मुख्य कारण

छिमेकी भारतको आलोचना गरिरहने एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि भने भारतीय भूमिकाको प्रसंशा गर्न थालेका छन्। चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको भन्ने भारतीय भारतीय विदेश मन्त्रालयको भनाईको ओलीले प्रसंशा गरेका हुन्। वामगठबन्धनको तर्फबाट आइतबार होटल अन्नपूर्णमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीलाई भारतसँगको सम्बन्धबारे पत्रकारहरुले प्रश्न गरेका थिए। ओलीले नयाँ सरकारले पनि भारतसँग मिलेर काम गर्ने बताए। भने, ‘हामीपनि भारतसँग मिलेर काम गर्न चाहन्छौं।’

ओलीको भारतसँगको तिक्ततापूर्ण सम्बन्धका कारण ओलीको कार्यकालमा दुई देशका सरकारबीच सुमधुर सम्बन्ध हुने कुरामा पनि पत्रकारहरुले आशंका गरेका थिए। तर, यो प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो प्रश्नको जवाफ भारतले अस्ति नै दिइसकेको छ।’ वामगठबन्धन बहुमतत आउने पक्का भइरहेका बेला २८ मंसीरमा नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयले नयाँ सरकारसँग मिलेर काम गर्न आफू आतुर रहेको बताएको थियो।

आजको पत्रकार सम्मेलनमा ओलीले त्यही कुरा इंगित गरेका थिए। पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रबक्ता रवीश कुमारले भनेका थिए, ‘भारत सरकार नेपालमा लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर छ।’ उनले प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि सरकार र जनतालाई बधाई पनि दिएका थिए।