दिनदाहाडै सिंहदरबारभित्र टायर चोर्ने उपसचिवका चालक पक्राउ

समातिए ग्यारेजका संचालक पनि

शनिबार राती सिंहदरबारभित्रबाट गाडिका चार वटा टायर चोरी गर्ने सरकारी चालक चन्द्र बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । मोक्तान वित्तिय आयोगको सचिवालयमा कार्यरत चालक भएको प्रहरीले जनाएको छ। उनले सिंहदरबारभित्र स्थानीय विकास मन्त्रालय परिसरमा रहेको गाडिको टायर चोरी गरेका थिए ।

चालक मोक्तानले आयोगका उपसचिव बलदेश जोशीको गाडि चलाउदै आएका थिए । जोशी चढ्ने बा २ झ १२१७ नम्बरको गाडि लिएर उनी शनिबार बेलुका चोरी गर्न सिंहदरबार गएको प्रहरीले जनाएको छ । सरकारी गाडि नम्बर भएपछि गेटमा चेकजाँच नहुने भएकाले उनले सिंहदरबारभित्रबाटै सजिलै चोरी गरेका हुन्।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग(डोलिडार)को बा १ झ २९२७ हाइलेक्स गाडिको चार वटा टायर उनले चोरी गरेका थिए । टायर चोरी गर्न उनले ग्यारेजबाटै जग लिएर गएको अनुसन्धानमा खुलेको छ । चालक मोक्तानलाई पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त अनामनगरमा बुझाइएको सिंहदरबार गणमा प्रहरी उपरीक्षक प्रेम जोशीले बताए ।

ग्यारेजका संचालक पनि समातिए

चोरीका लागि प्रोत्साहित गर्ने र चोरीका सामान खरिद तथा बिक्रि गरेको आरोपमा शंखमुलस्थित बराही टायर सेन्टरका मजल बहादुर मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । चोरी भएका टायर मगरकै ग्यारेजमा भेटिएको थियो । चोरी गर्न उनकै ग्यारेजबाट चालक मोक्तानले जग लिएर गएका थिए । विगतमा पनि सिंहदरबारबाट टायर चोरी हुने गरेकोमा मोक्तानले नै चोरी गरेको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको जोशीले बताए