शहिदका सपना साकार पार्न जनप्रतिनिधीलाई शहिद परिवारको आग्रह

कपाल फुलेर सेतै । अनुहार चाउरी परेको । राम्रोसँग हिड्डुल गर्न नसक्ने भए पनि जाजरकोट भेरीनगरपालिका–१ रिम्नाकी ७८ बर्षिय पद्मा खड्काले हालै प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन शहिद स्मृती भवन रिम्नामा पुगिन । उनले निकै भावुक र गम्भिर मुद्रामा बधाई दिदै भनिन–‘सामाजिक असमानता, कुरिती तथा कुस्कारको अन्त्य र समता मुलक समाजको निर्माण गर्ने शहिदको सपना पुरा गर्ने गरि काम गर्न सफलता मिलोस ।’ सडक यातायातको विकास, विजुली बत्ति, खानेपानी, जिल्लामै उपचार गर्ने अस्पतालको ब्यवस्था, केटाकेटी पढ्ने राम्रा विद्यालयको स्थापना गर्न उनले आग्रह गरिन ।

नागरिकको आर्थिक, सामाजिक, अवस्थामा आमुल परिवर्तन गर्ने भन्दै माओवादीले जनयुद्ध शुरु गरेको थियो । त्यही जनयुद्धमा दुई छोरा र बुहारी गुमाएकी पदमाले अतित सम्झदै भनिन्–‘छोराहरु फर्केर आउँछन् कि ? भनेर अहिले पनि आँखा वरीपरी आँउँछन् । मेरो छोराहरु र बुहारी बाँचेको भए आजको दिन देख्न पाउने थिए ।’ बुढेसकालको सहारा बन्लान भनेका छोराहरुलाई तत्कालिन सुरक्षाकर्मीले हत्या गरे पनि उनी अहिले एक्लो जिवन विताईरहेकी छन् । उनका जेठाछोरा कुन्तबहादुर खड्का र बुहारी मनसरा खड्कालाई २०५५ सालमा माओवादी भएकै कारण सुरक्षाकर्मीले हत्या गरेको थियो । त्यस्तै अर्का छोरा लक्ष्मण खड्कालाई २०५३ सालमै घर नजिकै लखेटि–लखेटी प्रहरीले हत्या गरेको थियो । उनले ब्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा खासै परिवर्तन आउन नसकेकोमा चिन्ता ब्यक्त गरिन । गरीबीले पिल्सिएका जनताको जीवन स्तर उकास्न, विकास र समृद्धि गर्न, सामाजिक र आर्थिक असमानता हटाउन भन्दै जनयुद्धमा लागेको भन्थे छोराहरु । खै अहिलेसम्म जनताको अवस्था उस्तै छ । माओवादी शान्ति प्रक्रियमा आएकै ११ बर्ष भैसक्यो । पटक पटक सरकारमा समेत गैसकेको छ तर, शहिदका सपना पुरा गर्न तर्फ केन्द्रित हुन नसकेकोमा दुःख लाग्ने गरेको उनले निर्वाचित प्रतिनिधिलाई सुनाउन भ्याईन ।

त्यस्तै सोही ठाँउकी ८९ बर्षिय अमृता खड्काले जनयुद्धमा छोरी ज्वाई गुमाएकी छन् । छोरी यमकुमारी खड्कालाई डोल्पामा र ज्वाई हरिबहादुर ध्यारलाई रुकुमकोटमा २०५९ सालमा सुरक्षाकर्मीले हत्या गरेको थियो । छोरीको सम्झनामा उनी अहिले पनि तड्पिई रहेकी छन् । उनी पनि सकिनसकी आफुले भोट हालेर जितेका जनप्रतिनिधी शहिद पार्क आएको सुनेपछि बधाई तथा शुभकामना दिन आएकी थिईन । उनले पनि जनप्रतिनिधीलाई बाटो–घाटो, खानेपानी, सिचाई, शिक्षा स्वास्थ्यको राम्रो ब्यवस्था गर्न आग्रह गरिन । तपाईहरु जनताको हितको लागी काम गर्नु होला । सुखसयलमा नभुल्नु होला उनले भनिन शहिदको सपना साकार पार्ने जिम्मेवारी तपाईहरुकै काधमा छ ।

प्रतिनिधी सभा र प्रदेशसभा सदस्यहरुले विजयी भएपछि भेरी नपा–१ रिम्ना स्थित सहिद स्मृती भवनमा पुगेर सहिदको सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आईतवार विहान प्रतिनिधीसभा सदस्य तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेत, प्रदेशसभा (क) का सदस्य गणेशप्रशाद सिंह, (ख) का सदस्य करवीर शाहीले सहिदको सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । रिम्नाका मात्र २७ जनाले जनयूद्धकालमा ज्यान गुमाएका थिए । नेकपा (माओवादी केन्द्र) शान्ति प्रक्रियामा आए लगत्तै रिम्नामा सहिद स्मृती भवन निर्माण गरि जिल्ला भरिका ३ सय वढी सहिदको फोटो संकलन गरि शहिद स्मृती भवनमा सजाएर राखिएको छ ।

सहिद परिवारसंग भेटघाट गदैँ प्रतिनिधी सभा सदस्य शक्तिवहादुर वस्नेतले शहिदले देखेका सपना पुरा गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरे । बस्नेतले राजनैतिक क्रान्ति पुरा गरयौ अव जनता र देशको आर्थिक समृद्धि तर्फ ध्यान केन्द्रित गर्छौ । मेरो पहिलो प्राथमिकता भनेकै मतदाताको आकांक्षा अनुसार सडक यातायात, विद्युत, सञ्चार, शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने हो उनले भने । जनयुद्धमा शहिद भएका हजारौ शहिदको सपना पुरा गर्न हामी मन बचन र कर्मले लागिपर्छौ । जाजरकोटमा प्रतिनिधी सभा र दुई प्रदेश सभामा बामगठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । प्रदेश (क) र प्रतिनिधी सभामा माआवादी केन्द्रका उम्मेदवारले जितेका छन् ।