यसरी ठगिँदैछन् नेपालका बिरामी भारतमा

भारतको सीमावर्ती सहर पानीट्यांकीमा जथाभावी खोलिएका क्लिनिकहरुले नेपालका बिरामीलाई ठग्ने क्रम अझै रोकिएको छैन । पूर्वी नाका काँकडभिट्टाबाट ५ मिनेटमा पुगिने पानीट्यांकी बजारमा रहेका दर्जनौँ क्लिनिकहरुले सस्तोको प्रलोभन देखाएर नेपाली बिरामीलाई ठग्ने गरेका छन् । ती क्लिनिकहरुले पाइल्स, फिस्टुला, हाइड्रोशिल लगायतका दर्जनौँ रोगको उपचार ग्यारेन्टीका साथ गरिने विज्ञापन गर्छन् ।

त्यस्ता क्लिनिकहरु नेपाली बिरामीलाई मात्रै लक्षित गरी स्थापना गरिएका हुन् । नेपालका बिरामीलाई क्लिनिकसम्म लैजानका लागि क्लिनिक सञ्चालकले नेपालकै ‘एजेन्ट’ प्रयोग गर्ने गर्छन् । एजेन्टमार्फत बिरामी पानीट्यांकीसम्म पुगिरहेका छन् ।  पानीट्यांकीका क्लिनिकहरुले सस्तोमा ग्यारेन्टीका साथ उपचार गरिने भन्दै मेची अञ्चलका ठाउँ–ठाउँमा पर्चा, पम्प्लेट नै टाँसेका छन् । सोही पर्चा हेरेर र एजेन्टको भनाइमा विश्वास गरेर उपचारका लागि त्यहाँ पुग्नेहरु उपचार बिग्रिएर नेपालका अस्पतालमा इमर्जेन्सीमा भर्ना भइरहेका छन् ।

ती क्लिनिकमा बिरामी पुग्नासाथ पैसाको मोलमोलाइ सुरु हुन्छ । पैसामा कुरो मिलेपछि मात्र उपचार सुरु गरिन्छ । रोग निको नभए पैसा फिर्ता गर्ने प्रचार गरिए पनि हालसम्म कसैको पैसा फिर्ता गरिएको छैन । बिरामीहरुले नेपालका प्रशासनलाई गुहारे पनि हालसम्म केही कारबाही प्रक्रिया अगाडि बढेको छैन ।

पानीट्यांकीका शान्ति पाइल्स क्लिनिक, माँ पाथीभरा आयुर्वेदिक, चाँदसी क्लिनिक लगायत दर्जनौँ क्लिनिकहरुले सस्तो उपचारका नाममा नेपाली बिरामीलाई सास्ती दिइरहेका छन् । नेपालका बिरामीलाई ठग्ने त्यस्ता क्लिनिकहरुको वैधानिकतामाथि सम्बन्धित निकायले चासोसमेत दिएको छैन ।

झापा शिवसताक्षी–१० का ४२ वर्षीय जयनारायण योगीलाई पाइल्स भयो । नेपालमा प्रचार सुनेकै भरमा उपचारका लागि उनी पानीट्यांकीको माँ पाथीभरा क्लिनिक पुगे । क्लिनिकमा पुग्नेबित्तिकै ३२ हजार रुपैयाँमा डिल भयो । क्लिनिकका ‘सहायक विषेशज्ञ’ भूपेन्द्र भट्टराईले जयनारायणलाई रोग निको नभए पैसा फिर्ता हुने आश्वासन दिए । किस्ता किस्तामा पैसा दिए हुने भन्दै उपचार सुरु गरे ।

सुरुमा बिरामीलाई ३ घण्टा बेहोस बनाइयो । बिरामीको होस् खुलेपछि ३ दिनमा फेरि आउनु भन्दै घर पठाइयो । घर पुग्नासाथ जयनारायणलाई ज्वरो आउन थाल्यो । भोलिपल्टदेखि घाउ पाक्न पनि थाल्यो । ३ दिनपछि पुनः क्लिनिकमा जाँदा उनलाई ‘डाक्टर’ले ‘औँषधि’मा रुवा चोबेर लगाइदिए । त्यसपछि झन जयनारायणको मलद्वारबाट मासु झर्न थाल्यो, रगत बगिरह्यो ।

पानीट्यांकीमा उपचार सफल हुन नसक्ने थाहा पाएपछि उनी झापाकै दमक हस्पिटल पुगे । त्यहाँबाट उनलाई धरान रेफर गरियो । तर, अत्यधिक रगत बगेकाले आफन्तले उनलाई धरान लगेनन्, झापाकै बी एण्ड सी हस्पिटल पु¥याए । ‘धरान लगेको भए म बाटोमै मर्ने रहेछु, रगत यति बग्दै थियो कि कपडाको बुजो लगाउँदा पनि रोकिएन,’ जयनारायणले भने, ‘बी एण्ड सी हस्पिटलमा मैले पुनर्जन्म पाएँ ।’ अहिले उनको अवस्थामा सुधार आएको छ । केही दिनमै हस्पिटलले डिस्चार्ज दिँदैछ ।

पानीट्यांकीको क्लिनिकलाई उनले १३ हजार रुपैयाँ तिरिसकेका छन् । आफू ठगिएको थाहा पाएपछि उनले आफन्तलाई भनेर प्रशासनमा निवेदन दिन लगाए । जयनारायणका छोराले जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टामा निवेदन थिएका छन् । तर, प्रशासनले हालसम्म केही पहल गरेको छैन ।

हाल जयनारायणको उपचारमा सम्लग्न बी एण्ड सी हस्पिटलका डा. रोहितकुमार यादव भन्छन्, ‘यहाँ ल्याउँदा उहाँको स्थिति भयावह थियो, दिसाघरको माथिसम्मै घाउ थियो, रगत अत्यधिक बगेको थियो, उपचारका क्रममा हामीले उहाँलाई ६ पोका रगत नै दियौँ ।’ सस्तोको हल्ला सुनेर भारतका क्लिनिकहरुको विश्वासमा नपर्न उनले सबैमा अपीलसमेत गरेका छन् । भारतमा ठगिएर आएका १० जना बिरामीको आफूले उपचार गरिसकेको उनले बताए ।

‘पाइल्स, फिस्टुला, हाइड्रोसिल लगायत रोगको उपचार गर्ने भनेर भारतका क्लिनिकहरुले नेपालमा प्रचार गरिरहेका छन्,’ बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, ‘यहाँ केही मिनेटमा उपचार हुने रोगका बिरामीलाई यस्तोसम्म हालतमा पु¥याइदिएछन् ।’ यसरी भारतमा उपचार बिग्रिएर महिनामा ३० जनासम्म बिरामीहरु बी एण्ड सी हस्पिटल आउने गरेको प्रसाईंले सुनाए । नयाँ पत्रिकाबाट