जब बाइबलका शिक्षकले नै चर्चभित्र गोली चलाए………

एक बाइबलका शिक्षकले टेक्सास राज्यको एउटा चर्चमा अन्धाधुन्धा गोली चलाएका छन् । अमेरिकाको टेक्सासको सदरल्याण्ड स्प्रिङ्गस्थित उक्त चर्चमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या २७ पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । अन्य २० जना घाइते छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

आइतबार विल्सन काउन्टीमा रहेको बाप्टिस्ट चर्चमा स्थानिय समय अनुसार ११ बजे बिहान उक्त घटना भएको थियो । गोली चलाउने पूर्व अमेरिकी सेना र बाइबलका शिक्षक डेभिन प्याट्रिक केली रहेको स्थानीय संचारमाध्यमहरुले बताएका छन् । गोलीकाण्डपछि डेभिन मृत फेला परेका थिए । उनी प्रहरीको कारवाहीमा मारिएका हुन् वा आत्महत्या गरेको भन्ने नखुलेको बताइएको छ । उनी गाडीभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।

यो अहिलेसम्मकै ठूलो गोलीकाण्ड भएको बताइएको छ । प्रहरीका अनुसार डेभिन कालो लुगा लगाएर एसल्ट राइफलसहित चर्च पुगेका थिए । यसअघि डेभिन अमेरिकी एयरफोर्सबाट आफ्नो पत्नी र बच्चालाई कुटेको आरोपमा निकालिएका थिए । उनी सान एन्टोनियोको न्यु ब्राउनफेल्सका बासिन्दा रहेको बताइएको छ । अमेरिकामा यस वर्ष १,४९५ वटा गोलीकाण्डका घटना घटिसकेका छन् ।