अन्त्य हुदै ग्रिनकार्ड प्रणाली के होला डिभी चिट्ठाको भविष्य ?

आखिर के हो त यो डिभी चिट्ठा ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिन कार्ड चिट्ठा प्रणाली अन्त्य गर्न आग्रह गरेका छन् । उनको भनाइ छ कि न्युयोर्कमा भएको एक ट्रक आक्रमणका जिम्मेवार आक्रमणकारी यही चिठ्ठा प्रणालीबाट अमेरिका आएका थिए । ट्रम्पले एकपछि अर्काे ट्विट गरेर त्यसमा लेखेका थिए कि आप्रवासीका लागि बनेको यस कार्यक्रम बन्द गरेर यसको स्थानमा योग्यताका आधारमा प्रवेश पाउने अलग्गै व्यवस्था हुनु आवश्यक छ ।

ट्रम्पले यस कार्यक्रमका लागि सिनेटर चक सुमरलाई जिम्मेवार ठहर्‍याएका छन्, जसले ट्रम्पमाथि चरपन्थ पक्षधर संस्थाहरूको आर्थिक सहयोग रोकेको आरोप लगाएका थिए ।

पागलपन अन्त्य गर्ने दाबी

अधिकारीहरूले अहिलेसम्म यस विषयको पुष्टि गर्न सकेका छैनन् कि मंगलबार भएको आक्रमणका मुख्य आक्रमणकारी सैफुल्लो साइपोवले अमेरिकामा कसरी प्रवेश पाएका थिए । बुधबार बिहानै ट्रम्पले ट्विट गरेका थिए— यी चरमपन्थी डाइभर्सिटी भिसा लटरी प्रोग्रामको माध्यमबाट देशमा आएका थिए, जुन चक सुमरको देन हो । म चाहन्छु कि यसको स्थानमा योग्यतामा आधारित व्यवस्था लागू होस् ।

ट्रम्पले न्युयोर्कका डेमोक्रेटिक पार्टीका सिनेटर चक सुमरमाथि आरोप लगाएका छन् कि उनी युरोपको समस्या आयात गर्ने कार्यमा मद्दत गरिरहेका छन् । ट्रम्पले अगाडि लेखेका छन् कि उनी यस पागलपनको अन्त्य गरेरै छाड्नेछन् ।

के हो यो डिभी चिट्ठा ?

डाइभर्सिटी भिसा लटरी प्रोग्रामलाई ग्रिन कार्ड लटरी कार्यक्रमको नामबाट चिन्ने गरिन्छ । र, यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्ने गरेको छ । वर्ष १९९० मा जब यो कानुन बनेको थियो, त्यस समय चक सुमरले यसलाई बनाउने कार्यमा अहं भूमिका निर्वाह गरेका थिए ।

रिपब्लिकन पार्टीका राष्ट्रपति जर्ज एच डब्लु बुसको कार्यकालमा यो कानुन पारित भएको थियो र यसलाई विपक्षी पार्टीका सदस्यहरूको भोट पनि प्राप्त भएको थियो । रिपब्लिकन पार्टीका सिनेटर जेफ फ्लेकले भनेका छन् कि सुमरले २०१३ मा एक प्रवासी कानुनको प्रस्ताव गरेका थिए र ग्रिन कार्ड चिट्ठा अन्त्य गर्ने कुरा गरेका थिए । यस कानुनअन्तर्गत स्थायी नागरिकताको कोटा, जो तत्कालका लागि ग्रिन कार्ड चिठ्ठाबाट प्रवासीलाई प्राप्त हुन्छ, त्यो बढी दक्ष र योग्य आप्रवासीलाई दिनुपर्ने थियो । आप्रवासीका लागि यो कानुन सिनेटबाट त पास भयो, तर कानुनको रूप लिन भने सकेन । किनकि, यसलाई प्रतिनिधिसभाबाट स्वीकृति प्राप्त हुन सकेन ।

ट्रम्पको आप्रवासी सुधार कार्यक्रम

मंगलबार भएको आक्रमणपछि ट्रम्पले भनका छन् कि उनले आन्तरिक सुरक्षा विभागलाई देशका आप्रवासीको जाँच गर्ने कार्यक्रमलाई थप कडा गर्ने आदेश दिएका छन् । उनले यसबारे थप जानकारी भने दिएका छैनन् । अमेरिकी राष्ट्रपतिको भनाइ छ कि गत वर्ष अगस्टमा राष्ट्रपति निर्वाचन अभियानका क्रममा उनी चाहन्थे कि अमेरिका आउनेवाला हरेक आप्रवासीको कडा जाँच होस् ।

यसभन्दा अघि ट्रम्पले मुस्लिम बहुल देशबाट आउनेवाला आप्रवासीलाई अमेरिका प्रवेशमाथि प्रतिबन्ध लगाइदिएका थिए । उनको यस कदमलाई कानुनी रूपमा चुनौती दिइएको थियो र यो विषयमा सर्वोच्च अदालतले केही सातामै सुनुवाइ गर्नेवाला छ । अमेरिकी सिभिल लिबर्टिज राइट्स ग्रुपको भनाइ छ कि कडा जाँच मुसलमानविरुद्ध भेदभाव गर्ने एउटा तरिका मात्र हो ।

ट्रम्पले रिपब्लिकन पार्टीका दुई सिनेटरको प्रस्तावित कानुनको पनि समर्थन गरेका छन्, जुन लागू भएको खण्डमा डिभी चिट्ठाको आधारमा सञ्चालन हुने आप्रवासी कार्यक्रम अन्त्य गर्न सकिनेछ । ‘द रिफर्मिङ अमेरिकन इमिग्रेसन फर स्ट्रङ इम्प्लोमेन्ट एक्ट’ फेबु्रअरीमा पेस गरिएको थियो । तर, यसलाई आवश्यक मत प्राप्त हुन सकेन । जसका कारण यो विधेयक सिनेटबाट पारित हुन सकेन । यस विधेयकका कारण वैध तरिकाबाट अमेरिका आउने आप्रवासीको संख्यामा आधा कटौती हुने थियो । र यहाँ आउने शरणार्थीको संख्यामा पनि कमी आउने थियो ।बिबिसी हिन्दीको समाचार टिप्पणी बिबिसी हिन्दी डट कमबाट