दुई बर्षदेखि बेपत्ता पाकिस्तानी महिला पत्रकारको उद्धार

एजेन्सी,दुई बर्षदेखि सम्पर्कविहीन पाकिस्तानकी एक महिला पत्रकारलाई उद्धार गरिएको छ । लाहोरको स्थानीय टेलिभिजनमा कार्यरत जीनत शहजादीलाई सन् २०१५ को १९ अगष्टमा अज्ञात समूहले अपहरण गरेको थियो । बेपत्ता नागरिकको खोजी र समाचार संकलनमा निरन्तर लागेका जीनतलाई घरबाट कार्यालय जाने क्रममा रिक्सामा सवार रहेकै बेला अज्ञात बन्दुकधारीले अपहरण गरेको थियो ।

उनी पछिल्लो समय भारतीय नागरिक हमीद अन्सारीको खोजीमा संलग्न रही समाचार संकलनका क्रममा रहेकै बेला अपहरणमा परेकी हुन् । अपहरण भएको दिनदेखि पाकिस्तानको बेपत्ता खोजबिन आयोगले उनको खोजी जारी राखेको थियो । उनलाई पाकिस्तान र अफगान सीमा नजिकबाट उद्धार गरिएको हो । जीनतको उद्धारमा बलुचिस्तान र खैबर पख्तुनख्वाहका स्थानीय नेताहरुको महत्वपूर्ण भूमिका रहेको बताईएको छ ।

उद्धार गरिएलगत्तै आफनो घर पु¥याइएकी जीनतका परिवार भने केही समयअघिदेखि नै सम्पर्कविहीन रहेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । जीनतका भाईले दिदी अपहरणमा परेपछि आत्महत्या गरेका थिए ।